काठमाडौं । २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको चर्चित नरसंहार घटनाका आरोपीमध्ये नाम जोडिएका बबन सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
शुक्रबार रास्वपाका सभापति रवि लामिछानेले सिंहलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेपछि यस विषयले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
गौरस्थित राइस मिल परिसरमा तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादीले एउटै स्थानमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने क्रममा दुई पक्षबीच हिंसात्मक झडप भएको थियो। उक्त घटनामा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने दुई जना बेपत्ता भएका थिए। यो घटना नेपालको राजनीतिक इतिहासकै सबैभन्दा चर्चित र विवादास्पद हिंसात्मक घटनामध्ये एक मानिन्छ।
यस घटनासम्बन्धी अनुसन्धानका क्रममा सर्वोच्च अदालतले गत भदौ २ गते तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। सोही जाहेरीमा बबन सिंहको नाम पनि समावेश रहेको छ।
अनुसन्धानको दायरामा रहेका र आपराधिक पृष्ठभूमिसँग जोडिएका व्यक्तिलाई रास्वपाले पार्टीमा भित्राएको विषयलाई लिएर विभिन्न राजनीतिक दल तथा सामाजिक सञ्जालमा आलोचना र बहस सुरु भएको छ। सुशासन, पारदर्शिता र स्वच्छ राजनीतिलाई प्राथमिकता दिने दाबी गर्दै आएको रास्वपाले यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई पार्टीमा भित्राएको निर्णयमाथि प्रश्न उठाइएको छ।
बबन सिंह २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रौतहट–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। त्यसपछि उनी नेकपा (एमाले) मा सक्रिय राजनीति गर्दै आएका थिए। पछिल्लो समय एमाले छाडेर उनी रास्वपामा आबद्ध भएका हुन्।
गौर नरसंहार प्रकरणको कानुनी प्रक्रिया अझै टुंगोमा नपुगेका बेला अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई पार्टीमा समेटिएको विषयले आगामी दिनमा थप राजनीतिक तरंग पैदा गर्ने देखिएको छ।