काठमाडौं । नेपाल र जर्मनी बीच सन् १९५८ देखि सुदृढ कूटनीतिक सम्बन्ध कायम रहे पनि द्विपक्षीय व्यापार तथा आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको सरोकारवालाहरूले औंल्याएका छन्।
विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेका बेला दुई देशबीच सहकार्य विस्तार गर्ने अवसर प्रशस्त रहेको उनीहरूको धारणा छ। काठमाडौंस्थित गेट्स कलेज मा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा जर्मन बिजनेस स्कूलका ३० सदस्यीय प्रतिनिधिमण्डलले नेपालको आर्थिक परिदृश्य, लगानी सम्भावना र सहकार्यका क्षेत्रबारे छलफल गरेको थियो।
कार्यक्रममा व्यावसायिक सीप, शैक्षिक ज्ञान र व्यवहारिक अनुभवलाई जोडेर कसरी उद्यम विकास र आर्थिक सम्बन्ध सुदृढ गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित बहस भएको थियो। नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपाल–जर्मनी सम्बन्धको दीर्घ इतिहास स्मरण गर्दै पूर्वाधार, ऊर्जा, पर्यटन र प्राविधिक तालिम क्षेत्रमा जर्मनीले पुर्याउँदै आएको सहयोगको चर्चा गरे। उनले नेपालमा लगानी र व्यापार विस्तारका लागि सकारात्मक वातावरण बन्दै गएको उल्लेख गर्दै भविष्यप्रति आशावाद व्यक्त गरे।
भवानी राणाले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल–जर्मन उद्योग वाणिज्य संघ को भूमिकाको प्रशंसा गर्दै यस्ता अन्तरक्रियाले नयाँ पुस्तालाई उद्यमशील बनाउन सहयोग पुग्ने बताइन्।
यसैगरी, सन्तोष चन्द्र कुँवरले शिक्षा र उद्योगबीच समन्वय आवश्यक रहेको औंल्याउँदै जर्मन द्वैध शिक्षा प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने धारणा गरे।सुदर्शन चापागाईंले पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सोल्टी समूह ले जर्मनीमा समेत विस्तार गरिसकेको जानकारी दिए। कार्यक्रममा सहभागीहरूले नेपाल–जर्मनी सहकार्यलाई थप मजबुत बनाउन यस्ता भ्रमण र ज्ञान आदान–प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।



FACEBOOK COMMENTS