काठमाडौं । भारत र नेपालबीच सीमापार डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ हुने भएको छ ।
नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले दुई देशबीच निर्बाध सीमापार भुक्तानी प्रणाली विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको हो ।
भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको अन्तरसम्बन्ध मार्फत भारत र नेपालबीच रियल–टाइम पर्सन–टु–पर्सन (पीटूपी) रकम स्थानान्तरणको सुविधा उपलब्ध छ ।
यसले दुवै देशका नागरिकलाई मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) मार्फत सहज रूपमा रकम पठाउन सक्ने सुविधा दिएको छ ।
त्यस्तै, नेपाल आउने भारतीय यात्रुले यूपीआईमार्फत नेपालका विभिन्न व्यवसायिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरी तत्काल, सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्छन् । फोनपे नेटवर्कमा आबद्ध व्यवसायीले यूपीआई भुक्तानी स्वीकार गर्न सक्ने भएकाले खुद्रा व्यापार, होटल तथा आतिथ्य सेवा र दैनिक किनमेलमा यसको प्रयोग विस्तार हुँदै गएको छ ।
चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरजस्ता पर्यटकीय तथा धार्मिक स्थलमा समेत यूपीआई भुक्तानीको सुविधा उपलब्ध छ । यसले भारतीय पर्यटकलाई नगद बोकेर हिँड्नुपर्ने वा मुद्रा साट्नुपर्ने बाध्यता कम गरेको छ ।
सन् २०२५ मा मात्रै २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए । मनोरञ्जन, धार्मिक यात्रा, व्यापार तथा पारिवारिक सम्बन्धका कारण नेपाल आउने भारतीय पर्यटकको संख्या उल्लेखनीय रहेको अवस्थामा यूपीआई भुक्तानीले उनीहरूको कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
यूपीआई भुक्तानीको विस्तारले नेपाली व्यवसायीलाई पनि ठूलो डिजिटल ग्राहक बजारमा पहुँच पुर्याउने एनआईपीएलको भनाइ छ। डिजिटल भुक्तानीमार्फत कारोबार छिटो हुने, नगद व्यवस्थापन सहज हुने तथा भौतिक मुद्रामाथिको निर्भरता घट्ने भएकाले व्यवसाय सञ्चालनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको यूपीआई–एनपीआई अन्तरसम्बन्धले दुवैतर्फ रियल–टाइम पीटूपी रकम स्थानान्तरणको सुविधा उपलब्ध गराएको छ ।
यस अन्तर्गत भारतीय तथा नेपाली प्रयोगकर्ताले बैंक खाता विवरण आदानप्रदान नगरी मोबाइल नम्बर वा भीपीएमार्फत रकम पठाउन सक्छन् । यसले भारत र नेपालबीच रेमिट्यान्समा निर्भर परिवार तथा व्यक्तिका लागि रकम स्थानान्तरणलाई थप सरल, सुरक्षित र किफायती बनाएको छ ।
एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले उपभोक्ता र व्यवसायका लागि सीमापार भुक्तानीलाई थप सहज बनाउने उद्देश्यले कम्पनीले काम गरिरहेको बताएका छन् ।
नेपालमा डिजिटल भुक्तानीको स्वीकार्यता बढाउने, भारतीय यात्रुको कारोबार सरल बनाउने तथा भारत–नेपालबीच रेमिट्यान्स स्थानान्तरणलाई थप छिटो र किफायती बनाउनेतर्फ कम्पनी केन्द्रित रहेको उनको भनाइ छ ।
एनआईपीएलले नेपालका नियामक निकाय तथा भुक्तानी प्रणालीसँग सम्बन्धित साझेदारसँग सहकार्यलाई निरन्तरता दिँदै यूपीआईमा आधारित भुक्तानी समाधानको प्रयोग विस्तार गर्ने योजना बनाएको छ । साथै, पीटूपी रेमिट्यान्स प्रणालीलाई थप बैंकसम्म विस्तार गर्ने तयारीसमेत गरिएको छ ।
एनआईपीएलको यस्तो पहलले भारत र नेपालबीचको डिजिटल तथा आर्थिक सम्बन्ध थप सुदृढ हुनुका साथै दुई देशबीचको जनस्तरको सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।