काठमाडौं । सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र प्रहरी वृत्त मालीगाउँ तथा प्रहरी वृत्त महाराजगञ्जको संयुक्त आयोजनामा शनिबार शान्तिसुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रमको सुरूआतमा प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले स्वागत मन्तव्य राख्दै अपराध न्यूनीकरण र प्रहरीको कार्यसम्पादन सुधारका लागि समुदायसँगको समन्वय अत्यावश्यक रहेको बताए । उनले समुदायबाट प्राप्त सूचनालाई प्राथमिकताका साथ कार्यान्वयन गरेर समाजमा शान्तिसुरक्षा मजबुत बनाउने प्रयास भइरहेको जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले विद्यालय तहमा नैतिक शिक्षा समावेश गर्नुपर्ने र लागुऔषध दुर्व्सनविरूद्ध सचेतना कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले समुदाय र प्रहरीबीचको समन्वयमा अपराध न्यूनिकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुँदै आएको बताए ।
प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त रजौरेले अपराध नियन्त्रणका लागि प्रहरीले विभिन्न रणनीतिहरू अवलम्बन गरिरहेको जानकारी गराउँदै सामुदायिक सहभागिता थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रहरी र समुदायबीचको सहकार्यले मात्र अपराधिक घटनाहरूलाई न्यून गर्न सकिने बताउँदै यस्तो कार्यक्रमले शान्तिसुरक्षा स्थापनामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
काठमाडौं महानगरपालिका वडा नं. ४ का अध्यक्ष दिनेश महर्जनले प्रहरी र वडाबीचको समन्वयले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे ।
कार्यक्रममा उपस्थित व्यक्तिहरूले शान्तिसुरक्षा, सडक सुरक्षा, लागुऔषध दुर्व्यसन नियन्त्रणजस्ता विषयमा आफ्ना जिज्ञासा र गुनासाहरू राखे ।
कार्यक्रममा संविधानसभा सदस्य रमा गुरागाईं, नेपाल सरकारका पूर्वसचिव श्यामप्रसाद मैनाली, पूर्वप्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, पूर्वप्रअमनि अमरसिंह शाह र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।
वैष्णवी टुँडालदेवी माताको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति र महिला समूहका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमले प्रहरी, समुदाय र सरोकारवालाहरूबीच समन्वयात्मक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ४ मा विशालनगर, चण्डोल, चुनदेवी, बालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।
FACEBOOK COMMENTS