काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन विद्यमान लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको छ ।
बाह्य क्षेत्र बलियो रहे पनि आन्तरिक मागमा सुधार नआएको र विश्व भू–राजनीतिक तनावले चुनौती थपेको अवस्थामा बैंकले नीतिगत निकास तय गरेको छ ।
अर्थतन्त्रमा देखिएको सुस्तता चिर्न र लगानी प्रवर्द्धन गर्न राष्ट्र बैंकले केही नीतिगत निकासका लागि कार्यान्वयन गर्ने भएको छ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्दै निजी क्षेत्रमा कर्जा विस्तारलाई प्राथमिकता दिने जनाएको छ । “सरकारले अघि बढाएका शासकीय र कानुनी सुधारका साथै मौद्रिक नीतिको यो निरन्तरताले लगानीकर्ताको मनोबल बढाउने र समष्टिगत मागमा क्रमिक सुधार ल्याई आर्थिक गतिविधिलाई तीव्र बनाउने अपेक्षा गरिएको छ,” समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

