काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ ।
म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे दुई मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरेको छ ।
असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आँखा’लाई जौन योन्जनले लेखन तथा निर्देशन गरेका हुन् । यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक योन्जनले सिनेमाको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोही प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । भुइँमान्छेको कथा प्रस्तुत गरिएको ट्रेलरमा फोहोरमा राजनीति र दुई वर्गबीचको खाडल देख्न सकिन्छ ।
चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाललगायतका कलाकारहरूको अभिनय छ । चलचित्रमा मुख्य भूमिकामा स्मिता लामिछाने र आरके मेहता देखिन्छन् ।
लामिछानेले यसअघि ‘बाह्र सत्ताइस’, ‘म राजेश हमाल’लगायतका थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् भने आरके मेहताले यसै चलचित्रमार्फत डेब्यू गरेका छन् । उनले यो चलचित्रका लागि १५ किलो वजन घटाएका थिए ।
रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा ‘जेसिमो बेटा भर्सन’, ‘कोमा’, ‘माझिपा लाखे’, ‘नारी’, ‘के लाग्यो हाल्काले’, ‘एल्लो कमेडी’ जस्ता थुप्रै नाटकहरू गरेका थिए । उनी ‘हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटलीमा एकेडेमिया डेल आर्तेमा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटलीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि वर्कशप दिएका थिए ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो । सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने छायांकन आलोक शुक्लाको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घर, सम्पत्तिविहीन दम्पतीले जीविकोपार्जनका लागि गर्नुपरेको संघर्ष र त्यसबीचमा उत्पन्न परिस्थितिलाई सिनेमाको कथावस्तु बनाइएको छ ।
हेर्नुहाेस् ट्रेलर-
FACEBOOK COMMENTS