काठमाडौं । अब व्यवसायी तथा किसानले किवी र ड्रागन फ्रुट (सिउँडी फल) खेतीको बीमा गर्न पाउने भएका छन् । बीमा समितिले दुवै खेतीको बीमा गर्न मिल्ने गरी बीमालेखको खाका जारी गरेपछि किसानलाई यस्तो बीमा गर्न बाटो खुलेको हो ।
नेपालमा व्यावसायिक रूपमा किवी र ड्रागन फ्रुटको खेती गर्ने प्रचलन बढ्दो छ । त्यो अवस्थामा व्यवसायी र किसानले पनि पहिलेदेखि नै यस्तो खेतीको बीमा गर्न खोजेका थिए । तर बीमालेखको खाका नहुँदा त्यस्तो खेतीको बीमा हुन सकेको थिएन । अहिले बीमा समितिले त्यसका लागि खाका बनाएपछि किसानलाई बीमा गर्न बाटो खुलेको हो ।
समितिले एक परिपत्र जारी गर्दै सबै निर्जीवन बीमा कम्पनीहरूलाई त्यस्तो खेतीको बीमा गर्न निर्देशन पनि दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले किवी र ड्रागन फ्रुट खेतीको बीमालेखको खाका जारी गरिएको बताए । अब बीमा कम्पनीहरूले त्यस्ता खेतीको पनि बीमा गर्न सक्ने उनको भनाइ छ ।
‘कम्पनीहरूमार्फत व्यवसायी तथा किसानले किवी र ड्रागन फ्रुट खेतीको बीमा गर्ने व्यवस्था बनाउन माग गर्दै आएका थिए,’ उनले भने, ‘सोहीअनुसार आवश्यक तयारी गरेर बीमालेखको खाका बनाएका छौं । अब निर्जीवन बीमा कम्पनीहरूले त्यस्तो खेतीको बीमा गर्न सक्छन् ।’ दुवै खेतीको लागत र उत्पादनको आधारमा बीमा गर्न मिल्नेगरी पोलिसी बनाइएको पनि उनले बताए ।
किवी खेतीको हकमा बिरुवा रोपेको पहिलो ५ वर्षसम्म र ड्रागन फ्रुटको हकमा बिरुवा रापेको ३ वर्षसम्म लागतको आधारमा बीमा गर्नुपर्नेछ । त्यसपछि भने उत्पादनको आधारमा बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
दुवै खेतीमा हुने अधिकांश जोखिमको रक्षावरण हुनेगरी बीमालेख बनाइएको छ । अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, आकस्मिकता वा दुर्घटनाजन्य, चट्याङजन्य र रोगरकीराजन्य क्षतिलाई बीमाले रक्षावरण गर्नेछ । साथै, सम्बन्धित व्यवसायी तथा किसानको २ लाख रुपैयाँको दुर्घटना बीमा हुने व्यवस्था गरिएको छ । सामूहिक रूपमा यस्तो खेती गरेमा पनि सबैको छुट्टाछुट्टै दुर्घटना बीमा गरिने आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS