काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ।
आइतबार न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा दुई पक्षबीच छलफल हुने भएको हो।
भदौ २३ गतेको घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ यसअघि गत सोमबार भएको थियो।
त्यतिबेला सुनुवाइ हुँदा छुट्टाछुट्टै न्यायाधीशको इजलासमा भएको थियो। न्यायाधीश मेघराज पोखरेलको इजलासमा ओली र न्यायाधीश कुमार रेग्मीको इजलासमा लेखकको सुनुवाइ भएको थियो।
दुवै इजलासले विपक्षीलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ (६) अनुसार जरूरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था के थियो भनेर जबाफ मागेको थियो।
