काठमाडौँ । वातावरणविद्हरूले उज्यालोको पर्वका रूपमा रहेको तिहार (दीपावली)मा पटका पड्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् ।
पटाका पड्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तैः सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बनमोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
वातावरणविद् भूषण तुलाधारले पटाकाजस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटाका पड्काउन नहुने बताए । ‘दीपावालीमा धेरैजसो बालबालिका पटाका पड्काउन संलग्न हुने गर्छन्, पटाकाका नजिक उनीहरू बस्छन् । यसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ,’ उनले भने, ‘पटाका पड्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पु¥याउन सक्छ ।’
जलवायु परिवर्तनविद् मञ्जित ढकालले पटाका पटकाउँदा निस्कने आवाजले ध्वनि र धुवाँले वायु प्रदूषण बढ्ने भएकाले बढी सतर्कता अपनाउनाका साथै सरोकार भएका निकायले पटाका पड्काउन नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
‘पछिल्लो समय नेपालमा पटाका पड्काउने दर केही कम भएको छ । दीपावलीमा भारतमा बढी पटाका पट्काउँदा वायु प्रदूषण हुने भन्दै भारत सरकारले नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आएको छ,’ उनले भने, ‘प्रदूषण रोक्नका लागि पटाका पड्काउन पनि नियन्त्रण गर्न आवश्यक छ ।’
जलवायु परिवर्तनविद् ढकालले पटाकामा हानिकारक रसायनहरू हुने भएकाले माटो र पानी प्रदूषित बनाउने, वातावरणको सन्तुलन बिगार्ने भन्दै पर्यावरणमैत्री दियो बालेर शान्त रूपमा पर्व मनाउन सकिने बताए ।
पटाकाबाट निस्कने विषाक्ता धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुन सक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरूले आग्रह गरेका छन् ।
पटाका पड्काउँदा निस्कने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने, उच्च रक्तचापको जोखिम बढाउने, कानमा स्थायी क्षति पुर्याउन सक्ने भएका सावधानी अपनाउन जनश्वास्थ्यविद्हरूले आग्रह गरेका हुन् ।
‘एअर क्वालिटी इन्डेक्स’ले भारतको दिल्लीमा दीपावलीको कारण प्रदूषण बढेको जनाएको छ । आज दिउँसोसम्मको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ८४ रहेको छ । अहिले दिल्ली विश्वको तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत छ ।
भन्सार विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले नेपाल-भारत खुला सिमाना रहेकाले भन्सार छलेर गैरकानुनी रूपमा पटाका नेपालमा ल्याउने गरिएको बताए । चाडपर्वमा भारततर्फबाट सामान किनमेल गर्ने बढी हुने भएकाले पनि सिमाना गैरकानुनी रूपमा पटाका नेपालमा भित्रिने गरेको उनको भनाइ छ ।
मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विस्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था गरेको छ । उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देजविपरीत हुने गरी कुनै पनि किसिमका विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।’
विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ को उपदफा २ को (क) मा कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही उपदफाको (ख) मा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म र (ग) मा सामान्य विस्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS