काठमाडौं । पछिल्लो केही दिनयता विभिन्न वहानमा पेट्रोलियम पदार्थको ढुवानी र विक्रीवितरणमा अवरोध पुर्याइएको भन्दै उक्त कार्यमा संलग्नलाई कारबाहीको माग गरिएको छ ।
उपभोक्ताको दैनिक अत्यावश्यक वस्तुको पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन, ढुवानी तथा विक्रीवितरणमा नेपाल आयल निगमका ढुवानीकर्ता, विक्रेता एवम् ग्यास उद्योगीहरूले आफ्नो माग सम्बोधन नभएको बहानामा अवरोध गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले आपत्ति जनाएको छ । मञ्चले आपूर्ति व्यवस्थामा खलल पुर्याउने सम्बन्धित विक्रेताहरूलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्रचार समेत गरेको छ ।
हिजो शुक्रबार मञ्चले प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्दै भनेको छ, ‘७५३ वटै पालिकाहरूको चुनाव घोषणको साथै सम्पूर्ण प्रशासनिक संयन्त्र चुनावी माहोलमा गइसकेको, युक्रेन युद्धको कारणले पेट्रोलियम पदार्थको भाउ अत्यन्त आकाशिएको र नेपाल आयल निगम समेत घाटापूर्ति नै गर्न नसक्ने अवस्थामा पुगेका बेला ग्यास उद्योगी, पम्प व्यवसायी तथा ढुवानी व्यवसायीहरूले संयुक्त रूपमा तिनीहरूको जायज–नाजायज माग पूरा गराउनका लागि आन्दोलनको बाटोमा लाग्दा त्यसको प्रत्यक्ष वा परोक्ष असर आम नेपाली नागरिकलाइ पर्न थालेको छ ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतलाई बोधार्थ गरिएको पत्रमा अगाडि लेखिएको छ, ‘जनता एकातिर बढदो महङ्गीको मारमा छन् भने आन्दोलनका कारण अभावमा समेत पर्न थालेका छन् । उपभोक्ताको दैनिक जीवन नै कष्टकर हुने गरी आपूर्ति व्यवस्थालाई नै खलबल्याउने कार्य गरी नेपाली नागरिकलाई असहज परिस्थितिमा पुर्याउने तथा उपभोक्ताको बाध्यतालाइ बन्धकी राखी आफनो माग पूरा गर्न खोजेको देखिन आएको छ ।’
यस्तो परिस्थितिमा नेपाल आयल निगम किंकर्तव्यबिमुढ भई अनिर्णयको बन्दी भएर बसेको भन्दै मञ्चले भनेको छ, ‘यसले गर्दा प्रत्येक नेपाली नागरिक अत्यन्त विक्षिप्त अवस्थामा पुगेका छन् भने सरकारप्रति नै अविश्वासको वातावरण बन्दै गएको छ, जुन नेपाल सरकारका लागि अत्यन्त घातक हुन सक्ने छ ।’
‘नियामक निकायहरू तथा सेवा तथा वस्तु प्रदायक दुवै पक्षबाट उपभोक्तालाई गम्भीर मर्का पर्ने काम भइरहेको यस बिषम् परिस्थितिलाई निराकरण गर्नका लागि प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै उद्योगी व्यवसायीहरूको जायज नाजायज मागहरूको सम्बन्धमा सम्बोधन गर्न अनुरोध गर्दछौं,’ अध्यक्ष प्रेमलाल महर्जनद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘उपभोक्तालाई मर्का पर्ने गरी नाजायज तरिकाले गरेको आन्दोलन तत्काल बन्द गर्न गराउन वा आपूर्ति व्यवस्थामा नै अवरोध पुर्याउन खोज्ने सम्बन्धित पक्षलाई कानून बमोजिम कारबाही गरी पाउनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक अनुरोध गर्दै आपूर्ति व्यवस्था सहज र सरल गरी पाउन अनुरोध गर्दछौं ।’
FACEBOOK COMMENTS