काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार आज बिहानदेखि मतदान सुरु भएको छ ।
संघको ३६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न उद्योगी व्यवसायीहरु मतदानमा उत्रिएका हुन् । मतदान कार्य बिहान ८ बजेदेखि सुरु भएको हो र यो साँझ ५ बजेसम्म जारी रहने छ ।
अध्यक्ष पदका लागि चार जना व्यवसायीहरु चुनावी प्रतिस्पर्धामा छन् । चुनावी मैदानमा बलराम आचार्य, शोभा गौतम, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल उत्रिएका हुन् ।
आचार्य र गौतमले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि भिड्दै छन् ।
निर्वाचनले अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले बताए । यसअघि शनिबार संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक साधारण सभाको उद्घाटन गरिएको थियो ।

बन्द सत्रमा महासचिव शोभा गौतमले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विसं २०११ मा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको यस संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् ।