पोखरा । आजदेखि फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्न लागेको छ ।
विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटमा आजदेखि नियमित उडान शुरु गर्न लागेको हो ।
फ्लाई दुबईले आज साँझ ६:१५ बजे पोखरामा अवतरण गरी ७:१५ बजे पुन: दुबईका लागि उडान भर्ने बताइएको छ । पहिलो उडानबाट आउने विमानलाई वाटर स्यालुट (पानीको फोहरा) सहित भव्य स्वागत गरिने तयारी गरिएको छ ।
फ्लाई दुबईको उडान विवरण अनुसार दुबईबाट पोखराका लागि उडान नम्बर एफजेड ११६५ र पोखराबाट दुबईका लागि एफजेड ११६६ रहनेछ ।
पोखराबाट दुबई जाने उडानमा बिजनेस क्लासको भाडा करिब १ लाख ९० हजार र इकोनोमी क्लासको भाडा करिब ९१ हजार रुपैयाँ पर्नेछ । दुबै गन्तव्यबीचको यात्रा समय करिब साढे ४ घण्टा हुनेछ भने पोखराबाट दुबई फर्किँदा करिब साढे ५ घण्टा लाग्ने बताइएको छ ।

यो उडानले पोखरालाई विश्व बजारसँग दिगो रूपमा जोड्न र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ ।

करिब २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको भएपनि हाल आन्तरिक उडानमा मात्र सीमित रहेको छ ।