काठमाडौं । लामो समय अवरुद्ध रहेको पोखरा महानगर क्षेत्रको फोहोर व्यवस्थापन सुचारु भएको छ । विगत करिब दुई महिनादेखि नै महानगरपालिकाको फोहोर संकलन अवरुद्ध भएकोमा अब समस्या समाधान गरेर सुचारु भएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् ।
उनले निरन्तरको प्रयासले तत्काललाई यो समस्या समाधान भएको जानकारी दिदै सार्वजनिक सरोकारको विषयमा निरन्तर चासो राख्न र फोहोर व्यवस्थापन जस्तो संवेदनशील कार्यमा अवरोध नगर्न आग्रह गरेका छन् ।
उनले फोहोर संकलन गर्ने गाडी आएपछि मात्र फोहोर विसर्जन गर्न र सभ्यता र अनुशासन मार्फत मानवीयता प्रस्तुत गर्न नगरबासीलाई अपिल समेत गरेका छन् । पोखरा महानगरपालिका–३३ मा फोहोर व्यबस्थापनका लागि प्रस्ताव गरिएको ल्याण्डफिल साइटको विषयमा भएको विवाद बढ्दै गएपछि फोहोर संकलन गत माघ महिना देखि अवरुद्ध रहेको थियो ।
पोखरा महानगरपालिकाले पोखरा–३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने उद्देश्यले मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले ८० करोड लगानी गरी २१ वर्षसम्म ल्याण्डफिल साइट व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्ने बताइएको छ ।
२६ महिनाभित्र प्रशोधन केन्द्र निर्माण गरिसक्ने र महानगरले ३० दिनभित्र जग्गा उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ । परियोजनाअन्तर्गत स्थानीय १७ परिवारको नाममा लालपूर्जा भएको करिब ९६ रोपनी जग्गा महानगरले रोक्का गरेको छ । तर स्थानीयबासीले आफूहरूसँग कुनै सरसल्लाह नगरी परियोजना अघि बढाइएको भन्दै विरोध गरेका थिए ।

FACEBOOK COMMENTS