काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा चार अर्ब १९ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख रूपैयाँ आम्दानी गरेको हो ।
साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रूपैयाँको विद्युत निर्यात गरेको पनि प्राधिकरणले जनाएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू) मा हुने गरेको छ । साउनमा विद्युत बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारू आम्दानी भएको छ । उक्त महिनामा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रूपैयाँ ५१ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८-९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरूमा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्था आएको बताए । वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिती एवं नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न समेत सकारात्मक योगदान पुगिरहेको प्राधिकारणले बताएको छ ।
‘हिउँदयाममा केही महिना अझै विद्युत आयात गर्नु परे तापनि आयातको परिमाण क्रमशः घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं,’ उनले भने ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि. (एनभीभीएन) लाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत निर्यात स्वीकृति पाएको थियो । यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाहरूबाट उत्पादित १०९.६१ मेगावाट विद्युत हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।
१० जलविद्युत आयोजनाबाट उत्पदित १२५ मेगावाट विद्युत मध्यकालीन सम्झौताबमोजिम पीटीसी, भारतमार्फत विहार राज्यमा निर्यात हुने छ । विहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरू गरिने छ । हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आईएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत निर्यात सुरू भइनसकेकाले हाल आईएक्स र हरियाणालाई गरी दैनिक रूपमा ६९०.५० मेगावाट विद्युत निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रूपैयाँको विद्युत निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको थियो ।
FACEBOOK COMMENTS