काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्ड आजदेखि निष्काशन तथा बिक्री खुला भएको छ ।
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो ।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।
निष्काशित कुल ८ करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई गरी कूल १ करोड २० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ० लाख इकाईका लागि सर्वसाधरणले फाल्गुण १ गतेबाट आवेदन दिन सक्नेछन् ।
फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा फाल्गुण २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत्र ०३ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।
