काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेका हुन् ।
प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न सरकारलाई चेतावनी दिए । उनले भने, ‘हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ । यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो ।’
सङ्घीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराए ।
प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिए । उनका अनुसार विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र सङ्घीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ । उनले भने, ‘यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु । तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ ।’
उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए । प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गरे ।
FACEBOOK COMMENTS