काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको उच्छृङ्खल भिडिओ खिच्ने युट्युबर अदालतमा हाजिर भएका छन् ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा प्रसाईंले आफैं गाडी चलाएर प्रहरीलाई नै किच्न खोजेको भिडिओ खिचेर फरार रहेका युट्युवर प्रकाशचन्द्र दाहाल आज जिल्ला अदालत काठमाडौंको सम्पर्कमा आएका हुन् ।
नेपाल पुकार युट्युब च्यानलका सञ्चालकसमेत रहेका दाहालले आन्दोलनकारी दुर्गा प्रसाईंको गाडीभित्र सँगै बसेर उक्त उच्छृङ्खल दृश्य छायाँकन गरेका थिए । उक्त आन्दोलनका क्रममा प्रसाईं बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडिओ दाहालले नै खिचेका हुन् ।
उनी हाजिर भएसँगै जिल्ला अदालत काठमाडौंका न्यायाधीश रेशराज शर्माको इजलासले दाहाललाई पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ । उनीविरुद्ध चारवटा कसूरमा मुद्दा दर्ता भएको थियो ।
आदेशमा भनिएको छ, ‘निज प्रतिवादीले पत्रकारिताको पेशागत कार्यअन्तर्गत मिति २०८१–१२–१५ गतेको जनविद्रोह घोषणा सभास्थललगायतका स्थलको प्रत्यक्ष प्रशारणसम्म गरेको देखिएको अवस्थामा निजलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई यी प्रतिवादी प्रकाशचन्द्र दाहालबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम पाँच हजार रुपैयाँ धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए मुद्दा पुर्पक्षका लागि तारेखमा राख्नु ।’
तीनकुने प्रकरणमा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा दाहाल पनि परेका थिए । उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो ।
FACEBOOK COMMENTS