काठमाडौं । मुलुकले झेलेको पछिल्लो प्राकृतिक प्रकोपलाई देखाएर उपभोग्य वस्तु तथा सेवाहरूमा मूल्य वृद्धि नगर्न राष्ट्रिय उपभोक्ता मञ्चले आग्रह गरेको छ ।
नेपालीहरूको ठूलो चाडपर्वहरूको सम्मुखमा आइपरेको बाढीपहिरोलगायत प्राकृतिक विपत्तिलाई देखाएर हवाइ भाडामा चर्को मूल्य वृद्धि गर्ने, सवारी तथा यातायातमा दादागिरी गर्ने, तथा खाद्यान्नमा समेत चर्को मूल्य वृद्धि गरेको भन्दै मञ्चले विपत्तिलाई देखाएर कुनै पनि उपभोग्य वस्तुको मूल्य वृद्धि नगर्न आग्रह गरेको हो ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मञ्सले आम नेपाली जनताको अभिभावकत्व ग्रहण गरेको सरकारले समेत यसतो अवस्थामा प्रभावकारी उपस्थिति जनाउनुपर्ने उल्लेख गरेको छ ।
‘नेपाल र नेपालीहरुको ठूला चाडबाडको बेलामा भएको यो प्राकृतिक विपत्तिको बेलामा पनि उपभोक्ता ठगेर खान पल्केका केही व्यवसायीहरुले प्राकृतिक प्रकोपलाई नै बहाना बनाई हवाइ भाडामा चर्को मूल्य वृद्धि गर्ने, सवारी यातायातमा दादागिरी गर्ने, खाद्यान्नमा मूल्य वृद्धि गर्ने जस्तो अनुचित व्यापारिक काम गरी ब्रह्मलूट मच्चाएका छन् र बजारलाई अराजकता तर्फ धकेलेका छन्,’ मञ्चका अध्यक्ष प्रेम लाल महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आम नेपाली जनताको अभिभावकत्व ग्रहण गरेको सरकार यस्तो स्थितिमा पनि बजारमा आफनो उपस्थिति दरो रुपमा देखाउन नसकेकोमा आम नागरिकको तर्फबाट राष्ट्रिय उपभोक्ता मञ्चले खेद व्यक्त गर्दछ ।’
मञ्चले नेपाल सरकारका सम्बद्ध निकायहरू, प्रदेश सरकार तथा स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले तत्काल उपभोक्ता हितका लागि आपूर्ति व्यवस्था सहज गर्न, मूल्य नियन्त्रण गर्न र अनुचित व्यापारिक क्रियाकलाप गरी उपभोक्ता ठग्ने र लूटने व्यवसायीहरुलाई कडा कारबाही गर्नुपर्नेमा मञ्चले जोड दिएको छ ।

यस्तै, देशको बिभिन्न भागमा आएको अत्यधिक वर्षा र बाढीले गर्दा प्राकृतिक चपेटामा परेर ज्यान गुमाएका २०० जना भन्दा बढी नागरिकप्रति मञ्चले समवेदन प्रकट गरेको छ भने वेपत्ताहरूको खोज तथा उद्धारमा तदारुकता देखाउन पनि आग्रह गरेको छ ।

