काठमाडौं । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षण गर्न गएका छन्।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन्।
उनीहरू आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन्।
बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्याएको थियो। प्रधानमन्त्री शाहले उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए।
बाढीको लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका थिए।

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्न लागेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिने र स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनस्र्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।
साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।