काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कठिन आर्थिक परिस्थितिमा पनि निजी क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
बिहीबार काठमाडौंमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड २०२६ को १८औँ संस्करणलाई सम्बोधन गर्दै उनले कठिन समयमा पनि निजी क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाएको बताएका हुन । उनले कर्पोरेट अवार्ड जस्ता कार्यक्रमले निजी क्षेत्रको योगदानलाई सम्मान गर्ने र व्यवसायीलाई थप प्रेरणा दिने काम गरेको बताए ।
कार्यक्रममा नेपालको अर्थतन्त्रमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई २९ वटा विभिन्न विधामा सम्मान गरिएको थियो । अवार्ड वितरणसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे समेत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, संघीय सांसद, अर्थशास्त्री, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ । निजी क्षेत्रको मनोबल बढाउने, सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा मुलुकको आर्थिक विकासमा योगदान दिने व्यक्ति तथा संस्थाको पहिचान र सम्मान गर्ने उद्देश्यले यो अवार्ड कार्यक्रम आयोजना हुँदै आएको हो ।
