काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले लोकप्रिय एनिमे फ्रेन्चाइज ‘नारुटो शिप्पुडेन’सँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ ।
कम्पनीले आगामी जुलाई ९ देखि उपलब्ध हुने भर्सन ४.५ अपडेटमार्फत गेमरहरूका लागि नयाँ गेमप्ले, विशेष फिचर तथा नारुटोको संसारमा आधारित अन्तक्र्रियात्मक अनुभव उपलब्ध गराउने जनाएको छ ।
पब्जी मोबाइलका अनुसार यो सहकार्य गेमको आठ वर्षे इतिहासकै सबैभन्दा महत्वाकांक्षी सहकार्यमध्ये एक हो । यसमार्फत गेमरहरूले पहिलोपटक पब्जी मोबाइलमा नारुटो शिप्पुडेनबाट प्रेरित वातावरण, चर्चित स्थान र पात्रहरूसँग सम्बन्धित विभिन्न इन–गेम अनुभव लिन सक्नेछन् ।
नारुटो प्रोडक्सन कमिटीको प्रत्यक्ष सुपरिवेक्षणमा तयार गरिएको यस अपडेटमा हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्यालीजस्ता चर्चित स्थान समावेश गरिएका छन् । साथै, चिडोरी, रासेङ्गन, स्याडो क्लोन र फ्लाइङ राइजिन जुत्सुजस्ता लोकप्रिय निन्जुत्सु सीप प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
अपडेटमार्फत गेमरहरूले नारुटो कथाको महत्वपूर्ण पात्र ‘द नाइन टेल्स’ विरुद्ध विशेष बोस फाइट खेल्ने अवसर पनि पाउनेछन् । यसबाहेक नारुटो, सासुके, साकुरा, काकाशी, हिनाटा, सुनाडे, जिराइया, गारा र मादारालगायत पात्रमा आधारित विशेष क्यारेक्टर सेट तथा अन्य थिममा आधारित सामग्री पनि उपलब्ध गराइने जनाइएको छ ।

सहकार्यबारे प्रतिक्रिया दिँदै टेन्सेन्ट गेम्सअन्तर्गत पब्जी मोबाइल पब्लिसिङका प्रमुख भिन्सेन्ट वाङले नवीन सहकार्य र उत्कृष्ट गेमिङ अनुभवमार्फत अन्तक्र्रियात्मक मनोरञ्जन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता रहेको बताए । विश्वभर नारुटोको लोकप्रियता र यसको समर्पित फ्यानबेसका कारण यो सहकार्य स्वाभाविक छनोट बनेको उनको भनाइ छ ।
सन् १९९९ देखि सुरु भएको नारुटो विश्वकै लोकप्रिय तथा सांस्कृतिक रूपमा प्रभावशाली एनिमे र मांगा फ्रेन्चाइजमध्ये एक मानिन्छ । यसले विश्वभर करोडौँ दर्शक तथा प्रशंसकको मन जित्दै आएको छ ।
पब्जी मोबाइलले भर्सन ४.५ अपडेट र नारुटो शिप्पुडेनसँगको सहकार्यबारे थप विवरण छिट्टै सार्वजनिक गरिने जनाएको छ । गेमरहरूले एप स्टोर र गुगल प्ले स्टोरबाट पब्जी मोबाइल नि:शुल्क डाउनलोड गरी नयाँ अपडेटको अनुभव लिन सक्नेछन् ।