काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार रुपैयाँभन्दा बढी योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मानस्वरूप धन्यवाद ज्ञापन प्रमाणपत्र प्रदान गर्ने भएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोषमा उल्लेखनीय आर्थिक सहयोग गर्ने दाताहरूका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हस्ताक्षरसहितको प्रमाणपत्र तयार गरिएको जनाएको हो। आन्दोलनबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माण, राहत वितरण तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले योगदान गर्ने दाताहरूको सम्मानस्वरूप उक्त प्रमाणपत्र उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार केही योगदानकर्ताको ठेगाना र सम्पर्क नम्बर स्पष्ट रूपमा उपलब्ध नभएकाले प्रमाणपत्र सम्बन्धित व्यक्ति वा संस्थासम्म पुर्याउन कठिनाइ भएको छ।
यस कारण १० हजार रुपैयाँभन्दा बढी सहयोग गरेका व्यक्ति तथा संस्थालाई सिंहदरबारस्थित अर्थ मन्त्रालयको जिन्सी शाखामा सम्पर्क गरी आफ्नो धन्यवाद ज्ञापन प्रमाणपत्र बुझ्न मन्त्रालयले अनुरोध गरेको छ।