काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले बडादसैँको टीका ग्रहण गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायतले बडामहारानी रत्न राज्यलक्ष्मी शाहको हातबाट टीका तथा आशीर्वाद ग्रहण गरेका हुन्। विजया दशमीको अवसरमा पूर्वराजपरिवारले सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै शुभकामना सन्देशसमेत दिएको छ।
शुभकामना सन्देशमा नेपालीको घरआँगनमा आइपुगेको बडादसैँलाई सनातनी परम्परा र संस्कृतिअनुसार सत्य, सदाचार र मर्यादाका लागि मनाइने पर्वका रूपमा उल्लेख गरिएको छ।
दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवका रूपमा व्याख्या गर्दै सन्देशमा नवदुर्गा भवानीले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सद्बुद्धि प्रदान गरून् भन्ने कामना गरिएको छ।