काठमाडौं। नेपाली सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाली सेनामाथि विभिन्न तरिकाबाट आक्रमण भइरहेको बताए।
शुक्रबार रिपोर्टर्स क्लबमा ‘के हो नेपाली सेना? के होइन नेपाली सेना?’ भन्ने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र नेपाली सेनामाथि विभिन्न तरिकाबाट खतरा बढेको टिप्पणी गरे।
नेपालको रक्षाका लागि हजारौं नेपाल आमाका छोराछोरीले प्राण आहुती दिएको स्मरण गर्दै उनले प्रधानमन्त्री माओवादीका भएको बेलामा पश्चिमा र भारतीय शक्तिहरु सल्बलाइरहेको आरोप लगाए।
‘अहिले माओवादीका प्रधानमन्त्री भएको बेलामा पश्चिमा र भारतहरु लागिरहेका छन्। अहिले माओवादी अगाडि छैन। ऊ पछाडि छ। पछाडि बसेर अर्कालाई धकेलिरहेको छ,’ उनले भने।
साथै, नेपाली कांग्रेसले सेनालाई कहिले पनि माया नगरेको उनको आरोप छ।
कांग्रेस सरकारमा आएको बेला विभिन्न तरिकाबाट सेनालाई दुःख दिने र सेनाको संगठनमाथि नै आँच आउने कार्य भएको उनको आरोप छ।
‘नेपाली कांग्रेसले सेनालाई कहिले पनि माया गर्दैन। म हजारौं उदाहरण दिनसक्छु। जहिले पनि राजा महेन्द्र र विपीलाई थुनेको मात्रै? जहिले नेपाली कांग्रेस सरकारमा आयो, हाम्रो भत्ता काटेको छ। विदाको पैसा काटेको छ। लप्टनलाई सुब्बा बनाउँछ,’ उनले भने।
देशमा नेपाली कांग्रेसको खोल ओढेर विदेशी शक्तिहरुलाई नेपालमा प्रभाव पार्न दिने कामहरु भइरहेको उनको आरोप थियो। नेपाली सेनालाई कमजोर बनाउने खेल नेपाल भित्रैबाट भइरहेको उनको बुझाई छ। तर, नेपाली सेना उनीहरुको योजनाअनुसार कहिले पनि नढल्ने उनले बताए।
‘अहिले यहाँ रअ ले उचालेर जुन पात्रहरु लागिरहेका छन्। तिमीहरु कुनै विश्वविद्यालयमार्फत परिचालित भइराखेका छौ। वर्तमान राष्ट्रपतिज्यू तपाईँका दलमा आवद्ध केही व्यक्तिहरु यहाँ विदेशीको इसारा नेपाली सेना ढाल्ने पक्षमा छन्। तर, ढल्ने छैन। हात्तिको ढाडमा भुसुनो चढेर झिँगाले डिंगो मर्दैन। तपाईँरु अहिले जरा काट्दै हुनुहुन्छ। हामी पर्यो भने जरा काट्नेको के–के काट्नसक्छौं? त्यो शक्ति र क्षमता छ हामीसँग,’ उनले भने।
देश रोएर बसेको अवस्थामा संविधानमात्रै हाँसेर बसेर नहुने उनले बताए अहिलेको संविधानमा रहेर चार वटा टाउका मात्रै हाँसेको उनको आरोप छ।
‘हामी भूपुहरु सेनाको पछाडि छौं। जनता तिम्रो पडाडि छ। के हेरेर बस्छौ? संविधान, संविधान मात्रै भनेर? संविधानमा के संशोधन गर्ने हो? संविधान फाल्ने हो की के गर्ने हो? के संविधानको मात्रै हामी नोकर हौं? देश रोएर बस्दा संविधानमात्रै हाँसेर बसेर हुन्छ? चार जना पाँच वटा टाउका मात्रै हाँसेर बसेर हुन्छ?,’ उनको प्रश्न छ।
साथै, तत्कालीन विद्रोही माओवादीका केही नेताहरुले अहिले पनि सडकमा आएर मार्ने धम्कि दिइरहेको बताए। उनले माओवादीका नेताहरुलाई फेरि पनि युद्ध गर्ने हो त? भनि प्रश्नसमेत गरेका छन्।
‘के थियो जनयुद्ध भन्ने त्यो? अहिले सडकमा आएर यसलाई मार्छु, त्यसलाई मार्छु ? खबरदार कहाँबाट आयो यो शक्ति फेरि? फेरिपनि युद्ध नै गर्ने हो त?’ उनले प्रश्न गरे।
FACEBOOK COMMENTS