काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज योगको ‘पोज’मा देखिएका छन् ।
दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रममा उनी सहभागी भएका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा आज बुधबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए ।
स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’
गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शारीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताए । संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउँदै कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने विचार उनको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता थियो ।
FACEBOOK COMMENTS