काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- थाइल्यान्डका राजा र रानीले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि मानवीय राहत सामग्री प्रदान गरेका छन् । नेपाल सरकारको प्राथमिकताका आधारमा तयार पारिएको राहत सामग्रीमा पाल, सुत्ने झोला, व्यक्तिगत सुरक्षा सामग्री, विद्युत् उत्पादन गर्ने यन्त्रलगायत आवश्यक सामग्री रहेका छन् । राहत सामग्रीको कुल तौल करिब ६.४४ मेट्रिक टन रहेको छ । बैंककस्थित डोन मुआङ विमानस्थलमा आज आयोजित हस्तान्तरण कार्यक्रममा थाइल्यान्डका राजपरिषद्का सदस्यले राजा–रानीको प्रतिनिधित्व गर्दै नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
राहत सामग्री आगामी सेप्टेम्बर ६ मा विशेष उडानमार्फत बैंककबाट काठमाडौँ ल्याई प्रभावित समुदायमा वितरण गरिनेछ । नेपाल सरकार र नेपाली जनताका तर्फबाट राजदूत ओलीले थाइल्यान्डका राजा–रानीप्रति सहयोगका लागि आभार व्यक्त गरेका थिए । उनले थाइल्यान्डको राजदरबार, सरकार, वायुसेना तथा थाइल्यान्डका जनताले विपद्को समयमा गरेको मानवीय सहयोगप्रति समेत धन्यवाद दिएका छन् । राजदूत ओलीले कठिन परिस्थितिमा प्राप्त यो सहयोगले नेपाल र थाइल्यान्डबीचको लामो समयदेखिको मित्रता, ऐक्यबद्धता र घनिष्ठ सम्बन्धलाई प्रतिबिम्बित गरेको बताएका छन् ।
२- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली सेनासँग मिलेर चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य गरिरहेको भारतीय टोलीले थप गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाएको जानकारी दिएका छन् । उनका अनुसार टोलीले शनिबार सुरुङभित्रको पानीसहितको लेदो निकाल्दै थप गहिराइसम्म पुग्ने काम गरेको थियो। सुरुङसम्म ठूला उद्धार उपकरण पुर्याउन अस्थायी बाटो निर्माणको कामसमेत भइरहेको छ । उनले भनेका छन्- ‘नेपाली सेनासँग सहकार्य गर्दै सुरुङमा उद्धार कार्य गरिरहेको भारतीय टोलीले चिलिमे सुरुङमा पानी निकाल्दै थप गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाएको छ ।
सुरुङसम्म थप ठूला उपकरण पुर्याउन अस्थायी बाटो निर्माणको कामसमेत भइरहेको छ । टोलीमा रहेका चिकित्सकहरूले स्थानीय समुदायका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन् ।’ हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भारी भग्नावशेष हटाउने काम गरिरहेका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब आधा भाग सफा गरिएको बताइएको छ ।

३- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा अन्योल र अनिश्चयको भुमरी जस्तो अवस्था रहेको टिप्पणी गरेका छन् । शनिबार चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आज देशमा सबैतिर कताकता अन्योलको, अनिश्चयको भुमरीजस्तो अवस्था देखिएको बताएका हुन् । प्रचण्डले सरकारले कर्मचारीतन्त्रलाई त्रसित र आतंकित बनाएर काम गराउदा प्रभावकारी नतिजा नआएको बताएका छन् । उनले राजनीति, कर्मचारीतन्त्रदेखि राज्यका सबै निकाय अलि बढी अन्योलमा रहेको बताए । प्रचण्डले देश अहिले महाविपदको अवस्थामा रहेको भन्दै उद्धार कार्यलाई प्रभावकारी भएको भए अझै धेरै जनाको ज्यान जोगिने अवस्था देखिएको बताएका छन् । उनले भने- ‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा रहेका दुई जना नेपालीको सकुशल उद्धार हुनु हामी सबैको निम्ति एकातिर सन्तोषको विषय भएको छ । अर्कोतिर समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको छ ।’
४- अर्जेन्टिना फुटबल संघले राष्ट्रिय टोलीबाट सन्यास लिएका लियोनल मेसीको सम्मानमा यस साताका सबै घरेलु खेल १०औँ मिनेटमा रोकेर एक मिनेट ताली बजाउने निर्णय गरेको छ । संघका अनुसार पुरुष तथा महिला दुवै वर्गका खेलमा पहिलो हाफको १०औँ मिनेटमा खेल रोकेर मेसीको राष्ट्रिय टोलीका लागि गरेको योगदानको सम्मान गरिनेछ । खेल मैदानमा पर्दा जडान भएका रंगशालामा खेल सुरु हुनुअघि मेसीको सम्मानमा तयार पारिएको भिडियोसमेत देखाइने फुटबल संघले जनाएको छ ।
मेसीले यसै साता सामाजिक सञ्जालमार्फत २०२६ को विश्वकप फाइनलमा स्पेनसँग भएको खेल नै अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल भएको बताउँदै ३९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका मेसीले टोलीका लागि सर्वाधिक १२५ गोल गरेका छन् । उनले छ वटा विश्वकप खेलेका छन् भने सन् २०२२ मा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । मेसीले विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने र २३ खेल जित्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । उनले राष्ट्रिय टोलीका लागि आफूले सक्दो योगदान दिएको र अब समय आएको महसुस भएपछि कठिन निर्णय लिएको बताएका थिए ।
५- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ । उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको छ । स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ । स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ ।
ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको हुँदा सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा समेत क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको छ । सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिने भएकाले उद्धार टोलीलाई जोखिमको मूल्याङ्कन, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन तथा उद्धारको रणनीति तय गर्न यो प्रविधिले महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ प्रविधिको प्रयोगले सुरुङभित्र उद्धारकर्तालाई प्रत्यक्ष प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न तथा कठिन परिस्थितिमा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुग्नेछ । जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा हुने दुर्घटना र विपद्का घटनामा खोज तथा उद्धार चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो अत्याधुनिक प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
६- दक्षिण कोरियाली चर्चित संगीत समूह बीटीएसले सन् २०२६ मा अर्को ठूलो कीर्तिमान बनाउँदै एसियाली तथा के–पप कलाकारका लागि नयाँ मानक कायम गरेको छ । बीटीएसका आरएम, जिमिन, जिन, जुंगकुक, जे–होप, सुगा र भी सम्मिलित समूहले स्पोटिफाइमा नयाँ कीर्तिमान बनाएको हो । समूहका १४९ वटा गीतले १० करोडभन्दा बढी पटक प्रसारण पाएका छन् । स्पोटिफाइको इतिहासमा यति धेरै गीतले १० करोड प्रसारणको आँकडा पार गर्ने बीटीएस पहिलो तथा एकमात्र समूह र एसियाली कलाकार बनेको जनाइएको छ । यससँगै बीटीएसले एकै वर्षमा एसियाली तथा के–पप कलाकारले सबैभन्दा धेरै गीत प्रसारण गराएको आफ्नै पुरानो कीर्तिमानसमेत तोडेको छ।
सन् २०२६ मा बीटीएसका गीतले स्पोटिफाइमा ८ अर्ब ६८ करोड पटक प्रसारण पाएका छन् । यसअघि समूहले सन् २०२१ मा ८ अर्ब ६५ करोड प्रसारणसहित बनाएको कीर्तिमानलाई यसपटक पार गरेको हो । बीटीएसका सातै सदस्य अनिवार्य सैन्य सेवा पूरा गरेर पुनः एकसाथ फर्किएपछि समूहले विश्वव्यापी रूपमा पुनरागमन गरिरहेको छ। उनीहरूले ‘अरिराङ’ विश्व भ्रमणमार्फत विश्वका प्रमुख सहरमा प्रस्तुति दिइरहेका छन् । उक्त विश्व भ्रमण अप्रिल २०२६ मा सुरु भएको थियो। प्रकाशित कार्यक्रमअनुसार भ्रमण सन् २०२७ सम्म जारी रहनेछ। हाल सार्वजनिक गरिएको कार्यक्रमअनुसार अन्तिम प्रस्तुति १४ मार्च २०२७ मा मनिलामा हुने तय गरिएको छ । स्पोटिफाइका अनुसार बीटीएसको पछिल्लो एल्बम ‘अरिराङ’को मुख्य गीत उक्त मञ्चमा सबैभन्दा धेरै प्रसारण भएको के–पप एल्बम बनेको छ। त्यस्तै, ‘नर्मल’ ले एकै दिन स्पोटिफाइमा सबैभन्दा धेरै प्रसारण भएको के–पप सङ्गीत दृश्यको कीर्तिमान बनाएको जनाइएको छ । विश्वभरका रंगशालामा दर्शकको ठूलो उपस्थिति बटुल्दै गरेको बीटीएसका गीतले अर्बौं प्रसारण पाइरहेका बेला पछिल्लो कीर्तिमानले सैन्य सेवापछि समूहको पुनरागमन अझ प्रभावशाली बन्दै गएको देखाएको छ ।
७- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानको भित्री तथा माथिल्लो भागबाट नयाँ ट्र्याक खोल्ने काम तीव्र पारिएको छ । हालसम्म दुवैतर्फ गरी करिब २५२ मिटर अस्थायी ट्र्याक खनिएको सडक बिभागले जानकारी दिएको छ । दुवैतर्फबाट खनिएको ट्र्याक जोडिइसकेको छ भने उक्त ट्र्याकबाट उत्खननका लागि प्रयोग हुने मेसिन आवतजावत गर्न सक्ने गरी प्रारम्भिक बाटो तयार गरिएको हो ।
सडक विभागका अनुसार यो तत्कालका लागि मेसिन सञ्चालन गर्न बनाइएको प्रारम्भिक ट्र्याक भएकाले डिजाइनअनुसार सावधानीपूर्वक काम भइरहेको छ । पहिरो गएको स्थानको अवस्थाअनुसार सडकको माथिल्लो भागबाट करिब २७ मिटर माथि हुँदै नयाँ बाटो खोल्ने योजना छ। यसका लागि कुल करिब ३७० मिटर नयाँ बाटो निर्माण गरिने योजना बनाइएको छ । नयाँ सडक करिब ७ मिटर चौडा बनाउने विभागले बताएको छ । बाटो खोल्ने क्रममा बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका तारजालीका संरचना हटाउने कामसमेत सुरु गरिएको थियो । यातायात सञ्चालन सहज बनाउन नयाँ ट्र्याक निर्माणको कामलाई तीव्रता दिइएको सडक विभागले जनाएको छ ।
८- अमेरिकाले मध्यपूर्वमा तनाव बढिरहेका बेला साउदी अरबलाई करिब ५ अर्ब अमेरिकी डलर बराबरको बम, लक्ष्य निर्देशन प्रणाली र अन्य सैन्य सामग्री बिक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित बिक्रीले साउदी अरबको हवाई प्रतिरक्षा क्षमता बढाउन, वर्तमान तथा भविष्यका क्षेत्रीय खतराको सामना गर्न, आफ्नो भूभागको सुरक्षा बलियो बनाउन तथा अमेरिकी सेना र खाडी क्षेत्रका अन्य साझेदारले प्रयोग गर्ने प्रणालीसँग सैन्य समन्वय सुधार गर्न सहयोग पुग्नेछ । विदेश मन्त्रालयले साउदी अरबलाई करिब ७५ करोड डलर मूल्य बराबरका एजीटी–१५०० इन्जिन बिक्री गर्ने सम्भावित प्रस्तावलाई समेत स्वीकृति दिएको जनाएको छ। यी इन्जिनको मुख्य आपूर्तिकर्ता हनीवेल रहेको मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित हतियार बिक्रीले प्रमुख गैर–नाटो सहयोगी राष्ट्रको सुरक्षा सुधार गर्दै अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुर्याउनेछ ।
यस वर्षको सुरुवातमा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानी सेना र यमनका हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन् । अमेरिकी विदेश मन्त्रालयले साउदी अरबलाई बम बिक्री गर्ने प्रस्तावबारे अमेरिकी संसद्लाई जानकारी गराइसकेको छ। प्रस्तावित बिक्री कार्यान्वयनका लागि अमेरिकी सांसदहरूको स्वीकृति आवश्यक हुनेछ । यसैबीच अमेरिकाले ओमान र इराकसँग सम्बन्धित दुई छुट्टाछुट्टै सैन्य बिक्री प्रस्तावलाई पनि स्वीकृति दिएको छ। विदेश मन्त्रालयले ओमानलाई एफ–१६ लडाकु विमानको सञ्चालन तथा मर्मतसम्बन्धी सेवा उपलब्ध गराउने करिब १८ करोड ८० लाख डलरको सम्भावित बिक्रीलाई स्वीकृति दिएको जनाएको छ । त्यस्तै, इराकलाई बेल–४१२ ईपीएक्स हेलिकोप्टर बिक्री गर्ने करिब १५ करोड डलरको अर्को सम्भावित प्रस्तावलाई पनि अमेरिकाले स्वीकृति दिएको छ।
९- रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो । उद्धारका क्रममा श्रेष्ठ भेटिएकी थिइन् । उद्धारपछि उनलाई हेलिकोप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा ल्याइँदैछ । मैथिली ब्यारेकमा प्रारम्भिक उपचार गरिने र स्वास्थ्य अवस्था तथा आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं लगिएको छ ।
१०- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार जना सम्पर्कविहिन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ५ हजार जना सम्पर्कविहिन रहेका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ । त्यस्तै अहिलेसम्म सुरक्षाकर्मी करिब १०० जना सम्पर्कमा नरहेको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै अहिलेसम्म १३४४ जनाको शव फेला परेको छ । जसमा रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, चितवनमा ३६०, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २३० जनाको शव फेला परेको छ ।त्यस्तै बाढीबाट घाइते भएका २ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ । अहिलेसम्म ९६ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ । फेला परेका शवमा ५०१ जनाको आंशिक अवशेष मात्र भेटिएको प्राधिकरणले जानकारी दिएको छ ।
११- बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो पुल जडान गर्न थालेको छ । बाढीका कारण तादी खोलामाथिको सडक सम्पर्क विच्छेद भएपछि यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले अस्थायी पुल जडानको काम अघि बढाएको हो । पुल जडान भएपछि सडक सम्पर्क पुनःस्थापित हुने र स्थानीय बासिन्दाका साथै यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
१२- बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उहाँलाई उद्धार गरेको हो । उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ । उनलाई भोटेकोशी बाढीपछि ११औं दिनमा उद्धार गरिएको हो ।
१३- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लाङटाङ हिमालको उत्तरी मोहडामा गएको हिमपहिरो तथा त्यसपछि भोटेकोशी र त्रिशूली नदी किनारका करिडोर, बजार तथा बस्तीमा भएको क्षतिको मुख्य कारण जलवायु परिवर्तन रहेको बताएका छन् । पोखरेलले कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालले ठूलो विपत्ति व्यहोर्नुपरेको बताएका छन् । उनले अत्यधिक कार्बन उत्सर्जन गर्ने तथा विलासी उपभोग गर्ने विकसित राष्ट्रहरू नै यस्तो अवस्थाका मुख्य जिम्मेवार रहेको दाबी गरेका छन् । उनले विपत्तिको समयमा नेपाललाई सामान्य राहत मात्रै नभई जलवायु क्षतिपूर्ति आवश्यक रहेको बताएका छन् ।
पोखरेलले वातावरण संरक्षणमा नेपालले पुर्याएको योगदानबापत प्राप्त हुनुपर्ने सहयोग अझै नपाएको बताएका छन् । हिमाल पग्लिएर आउने बाढी तथा हिमपहिरोका कारण तटीय क्षेत्रका नागरिकले भोगिरहेको पीडा र क्षतिको भर्पाइ विकसित औद्योगिक राष्ट्रहरूले गर्नुपर्ने उनको भनाइ छ । यसअघि एमाले नेतृत्वको सरकारका समयमा ‘सगरमाथा संवाद’मार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने प्रयास गरिएको स्मरण गर्दै पोखरेलले अब नेपालले पुनः ‘सगरमाथा सम्मेलन’ आयोजना गरेर जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले त्यहाँ वातावरण संरक्षण, जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । पोखरेलले नेपालको जलवायु न्याय प्राप्तिको अभियानमा अन्तर्राष्ट्रिय समुदायले खुलेर सहयोग गर्नुपर्ने बताएका छन् ।
१४- कृत्रिम बुद्धिमत्ता चिप निर्माता कम्पनी एनभिडियाले कृत्रिम बुद्धिमत्ता मञ्च हगिङ फेसलाई करिब १२ अर्ब ९० करोड डलरमा खरिद गर्ने सम्झौता गरेको छ । यो एनभिडियाको इतिहासकै ठूलो खरिदमध्ये एक हो । सन् २०१६ मा स्थापना भएको हगिङ फेसमा विश्वभरका विकासकर्ता तथा अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमत्ताका नमुना र उपकरण खोज्ने, साझा गर्ने तथा परीक्षण गर्ने गरेका छन् । कम्पनीका अनुसार मञ्चमा १ करोड ८० लाखभन्दा बढी विकासकर्ता र ३० लाखभन्दा बढी कृत्रिम बुद्धिमत्ता नमुना रहेका छन् । सम्झौताअनुसार एनभिडियाले हगिङ फेसका लगानीकर्तालाई करिब ११ अर्ब ९० करोड डलर भुक्तानी गर्नेछ भने कम्पनीमा आबद्ध हुने कर्मचारीलाई थप १ अर्ब डलरसम्मको सेयर प्रोत्साहन दिनेछ ।
एनभिडियाले हगिङ फेस विकासकर्ताका लागि खुला नै रहने र प्रयोगकर्तालाई एनभिडियाका चिप वा सेवामात्र प्रयोग गर्न बाध्य नपारिने जनाएको छ । खुला स्रोतमा आधारित कृत्रिम बुद्धिमत्ता प्रणालीले प्रयोगकर्तालाई नमुना डाउनलोड गरी आफ्नो आवश्यकता अनुसार परिमार्जन गर्न अनुमति दिन्छ । यो खरिदले एनभिडियालाई कृत्रिम बुद्धिमत्ता क्षेत्रमा आफ्नो सफ्टवेयर उपस्थिति विस्तार गर्न तथा ठूलो विकासकर्ता समुदायमा पहुँच बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । एनभिडियाका प्रमुख ग्राहकहरू आफ्नै कृत्रिम बुद्धिमत्ता चिप विकास गरिरहेका बेला कम्पनीले सफ्टवेयर क्षेत्रमा पनि आफ्नो पकड बलियो बनाउन खोजेको विश्लेषण गरिएको छ ।
१५- अफ्रिका महादेशको वास्तविक आकारलाई सही रूपमा देखाउने नयाँ विश्व नक्सा प्रयोग गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको छ । टोगोको पहलमा ल्याइएको ‘नक्सा सच्याऔँ’ प्रस्तावको पक्षमा फ्रान्स र बेलायतसहित १६४ राष्ट्रले मतदान गरेका थिए । अमेरिकाले भने प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने ६ राष्ट्र मतदानमा सहभागी भएका थिएनन् । महासभाबाट पारित प्रस्ताव बाध्यकारी भने छैन । तर यसपछि विश्वभरका विभिन्न संस्थाले प्रयोग गर्ने नक्सामा परिवर्तन आउने अपेक्षा गरिएको छ । सोह्रौँ शताब्दीदेखि व्यापक रूपमा प्रयोग हुँदै आएको मर्केटर नक्सामाथि अफ्रिकाको आकारलाई वास्तविकभन्दा निकै सानो देखाएको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको थियो । उक्त नक्सामा अफ्रिका र ग्रिनल्यान्ड लगभग उस्तै आकारका देखिन्छन् । जबकि अफ्रिका ग्रिनल्यान्डभन्दा करिब १४ गुणा ठूलो छ । आलोचकहरूले यस्तो नक्साका कारण भूमध्यरेखानजिक रहेका देशहरूको विकास आवश्यकता, स्रोतसाधन र सम्भावनालाई वास्तविकभन्दा कम आँकलन गर्ने धारणा विकास भएको बताएका छन् ।
मर्केटर नक्सा सन् १५६९ मा फ्लेमिस भूगोलविद् जेरार्डस मर्केटरले तयार गरेका थिए । विश्वभर समुद्री यात्राका लागि युरोपेली अन्वेषकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त नक्सा तयार गरिएको थियो । मर्केटर नक्सामा देखिने आकारको असमानता पृथ्वीको गोलाकार सतहलाई दुई आयाम भएको कागजी नक्सामा पूर्ण रूपमा सही ढंगले उतार्न नसकिने कारण उत्पन्न भएको हो । विश्वको नक्सा बनाउँदा कुनै न कुनै पक्षमा केही सम्झौता गर्नुपर्ने हुन्छ । मर्केटर नक्साले पृथ्वीको गोलाइ देखाउन भूमध्यरेखानजिकका देशलाई वास्तविकभन्दा सानो र ध्रुवतर्फका देशलाई वास्तविकभन्दा ठूलो देखाउने गरेको छ । यही समस्या सुधार्ने प्रयासस्वरूप सन् २०१८ मा भूगोलविद्हरूको एक समूहले सबै महादेशको क्षेत्रफललाई तुलनात्मक रूपमा सही देखाउने नयाँ नक्सा तयार गरेको थियो । त्यसलाई ‘समान क्षेत्रफल पृथ्वी नक्सा’ नाम दिइएको थियो । गत फेब्रुअरीमा अफ्रिकी संघका ५४ सदस्य राष्ट्रले उक्त नक्सा अपनाएका थिए । अफ्रिकी संघले यो नक्साले सबै महादेशको आकार, विशेषगरी अफ्रिकाको क्षेत्रफल, अझ सही रूपमा प्रस्तुत गर्ने बताएको थियो ।
नक्सा सुधार अभियानमा संलग्न समूहहरूले अफ्रिकाको विशाल क्षेत्रफल देखाउन अमेरिक, चीन, भारत, जापान, मेक्सिको र युरोपको ठूलो भूभागसमेत अफ्रिकाभित्र अटाउन सक्ने र अझै जमिन बाँकी रहने बताएका छन् । मतदानअघि टोगोका विदेशमन्त्री रोबर्ट दुस्सीले भनेका थिए- ‘न्यायपूर्ण विश्वको सुरुवात न्यायपूर्ण नक्साबाट हुन्छ ।’ उनले यसअघि संयुक्त राष्ट्रसंघको बैठकमा नक्सा कहिल्यै तटस्थ नहुने बताएका थिए । उनका अनुसार नक्साले मानिसको धारणा निर्माण गर्छ र विश्वमा विभिन्न जनता तथा महादेशको स्थानलाई कसरी बुझ्ने भन्ने कुरामा प्रभाव पार्छ । टोगोको प्रस्तावलाई फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोले पनि समर्थन गरेका थिए। उनले फ्रान्सको विदेश मन्त्रालयले मर्केटर नक्साको प्रयोग बन्द गर्ने बताएका थिए । ‘नक्सा परिवर्तन गर्दा विश्व परिवर्तन हुँदैन। तर विश्वलाई विकृत रूपमा प्रस्तुत गर्ने चित्रण सच्याउनु सत्यतर्फको एउटा कदम हो,’ उनले भनेका थिए । तर संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि यारिना फेरेन्सेभिचले भने प्रस्तावको आलोचना गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय शान्ति, समृद्धि र असल सम्बन्धजस्ता वास्तविक समस्यामा ध्यान दिनुपर्ने बेला महासभाले सोह्रौँ शताब्दीको नक्सा र त्यसले क्षतिपूर्ति तथा मानसिक न्याय प्रवर्द्धनमा खेलेको भूमिकामाथि छलफल गर्नु हास्यास्पद भएको बताएकी थिइन् ।
यसअघि मार्चमा पनि अमेरिकाले अफ्रिकासम्बन्धी अर्को प्रस्तावप्रति आपत्ति जनाएको थियो । उक्त प्रस्तावमा एटलान्टिक दास व्यापारलाई ‘मानवजातिविरुद्धको सबैभन्दा गम्भीर अपराध’ घोषणा गरिएको थियो । अफ्रिकालाई विश्व नक्सामा गलत रूपमा प्रस्तुत गर्नु केवल नक्सा निर्माणसम्बन्धी त्रुटि नभई कथ्यसँग जोडिएको विषय भएको अफ्रिकासम्बन्धी गलत सूचनाविरुद्ध काम गर्ने संस्था ‘अफ्रिका नो फिल्टर’की लिराटो मोगोआत्लेले बताएकी थिइन् । उनका अनुसार मर्केटर नक्सा हटाउने अभियान अफ्रिकाबारे लामो समयदेखि फैलिँदै आएको गलत र भ्रामक सूचनाको अन्त्य गर्ने प्रयासको एउटा हिस्सा हो । केन्याका भूगोलविद् किओको मुएन्डोले पनि मर्केटर नक्साले अफ्रिकी महादेशको विशाल प्राकृतिक स्रोत, जनसंख्या र लगानीका अवसरलाई अप्रत्यक्ष रूपमा कम महत्त्वपूर्ण देखाउँदै आएको बताएका छन् ।
१६- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालले जलवायु परिवर्तनबाट भइरहेको क्षतिका लागि सहानुभूति नभई जलवायु न्याय मागिरहेको बताएकी छन् । मलेसियामा आयोजित एसिया–प्यासिफिक तथा दक्षिण–पूर्वी एसिया क्षेत्रका ३० देशका सांसद सहभागी सम्मेलनमा कार्कीले जलवायु परिवर्तन र जलवायु न्यायका विषयमा नेपालको धारणा राखेकी हुन् । जनसंख्या तथा विकाससम्बन्धी एसिया–प्यासिफिक सांसद मञ्चअन्तर्गतको सम्मेलनमा विभिन्न देशका सांसद, मन्त्री तथा विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी छलफलका क्रममा कार्कीले जलवायु परिवर्तन, जलवायु न्याय, क्षतिपूर्ति, क्षति तथा नोक्सानी कोष र जलवायु उत्थानशीलताका विषय उठाएकी थिइन् । जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि नेपालले विश्वकै लागि पुस्तौँदेखि हिमालय, हिमनदी, वनजंगल, नदी तथा समग्र हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्दै आएको तथ्य उनले प्रस्तुत गरेकी थिइन् ।
हालै नेपालमा आएको भोटेकोशीको विनाशकारी बाढीको दर्दनाक दृश्यसमेत सम्मेलनमा प्रस्तुत गर्दै उनले बाढीबाट नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे तथ्यांकसहित जानकारी गराएकी थिइन् । प्राकृतिक विपद्का कारण हजारौँ मानिसले ज्यान गुमाउनुपरेको, अर्बौँ रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको तथा वर्षौँ लगाएर निर्माण गरिएका सडक, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र अन्य भौतिक पूर्वाधार केही मिनेटमै ध्वस्त हुने गरेको उनले बताएकी थिइन् । नेपालजस्तो देशले विश्वसँग ऋण लिएर पटक–पटक यस्ता भौतिक संरचना निर्माण गर्न नसक्ने वास्तविकतासमेत उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेकी थिइन् । हिन्दुकुश हिमालय क्षेत्रमा प्राकृतिक विपद् तथा जोखिम निगरानीसँग सम्बन्धित समर्पित सहयोग र कोषमा कटौती गरिएको विषयलाई पनि कार्कीले सम्मेलनमा उठाएकी थिइन् । उनले एसिया–प्यासिफिक तथा दक्षिण–पूर्वी एसिया क्षेत्रका सबै सदस्य राष्ट्रका सांसदलाई आ–आफ्ना संसदमा जलवायु परिवर्तन र जलवायु न्यायलाई प्रमुख एजेण्डाका रूपमा अघि बढाउन आह्वान गरेकी छन् । साथै नेपालले भोगिरहेको जलवायु संकटका लागि न्याय दिलाउन विश्व समुदाय एकजुट भएर उभिनुपर्ने अपिलसमेत कार्कीले गरेकी छन् ।
१७- भोटेकोशी बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्बजनिक गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा आएको बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रारम्भिक आँकलन विस्तृत क्षति विवरण नभएको प्राधिकरणले स्पष्ट पारेको छ । प्रारम्भिक प्रतिवेदनअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त घरधुरीका आधारमा प्रत्यक्ष रूपमा ३२ हजार ९३३ जना प्रभावित भएको अनुमान गरिएको छ ।
त्यसैगरी ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ । तीमध्ये ३५ वटा पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा र सात वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य संस्थातर्फ चार वटा पूर्ण र तीन वटा आंशिक गरी सात वटा संस्थामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ । सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । बाढीबाट १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ । यसका कारण करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने प्रारम्भिक आँकलन गरिएको छ । बाढीबाट पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत प्रभाव परेको छ । प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखा पनि प्रभावित भएका छन् । ऊर्जा क्षेत्रतर्फ ७८३ मेगावाट विद्युत् उत्पादनमा प्रभाव परेको छ । प्रभावित क्षेत्रमा १३ वटा जलविद्युत् आयोजना, एउटा सोलार प्लान्ट र दुई वटा प्रसारण लाइनमा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।
१८- स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई रियल बेटिसले १–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा ट्रोय पारोटले गरेको गोल निर्णायक बनेपछि रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको थियो । खेलको पहिलो हाफमा रियल मड्रिडले गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो । भिनिसियस जुनियरको प्रहार पोलमा लागेको थियो भने किलियन एम्बाप्पेले पनि गोल गर्ने अवसर गुमाएका थिए । दोस्रो हाफमा जुड बेलिङ्घमको प्रयासलाई बेटिसका गोलरक्षक अल्भारो भालेसले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ८१औँ मिनेटमा बेटिसले अग्रता लिएको थियो । रियल मड्रिडका गोलरक्षक थिबो कोर्टुवाले हेडर बचाए पनि आएको रिबाउन्डमा पारोटले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि रियल मड्रिडले बराबरी गोलका लागि लगातार दबाब बढाएको थियो ।
एम्बाप्पेको शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो । कार्लोस एस्पीले गरेको साइकल किकबाट गोल भए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि अफसाइडका कारण गोल मान्य भएको थिएन । इन्ज्युरी समयमा रियल मड्रिडले पेनाल्टी पाएको थियो । नातानले भिनिसियसलाई फाउल गरेपछि प्राप्त पेनाल्टी एम्बाप्पेले प्रहार गरेका थिए । तर बेटिसका गोलरक्षक भालेसले उनको प्रहार बचाउँदै रियललाई बराबरी गर्नबाट रोकेका थिए । एम्बाप्पेका लागि यो खेल विशेष रूपमा निराशाजनक बनेको थियो । उनले खेलमा गोल गर्ने केही अवसर गुमाउनुका साथै निर्णायक समयमा पेनाल्टीसमेत गोल गर्न चुकेका थिए । यो हारसँगै जोसे मोरिन्होको नेतृत्वमा रियल म्याड्रिडको लगातार तीन खेलको विजयी यात्रा रोकिएको छ । चार खेलबाट रियलको ९ अंक भएको छ भने बेटिसले पनि ९ अंक जोडेको छ ।
१९- नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य ६०५ रुपैयाँ तोकेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५५० रुपैयाँ कायम गरिएको छ । संघले तोकेको समर्थन मूल्यमा सानो अन्डाको मूल्य प्रतिपेटी ३ हजार २ सय रुपैयाँ कायम गरेको छ । संघले उत्पादक, संकलनकर्ता, थोक तथा खुद्रा व्यवसायीलाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ । उपभोक्ता मूल्य भने ठूलो अन्डा प्रतिगोटा २५, मिडियम अन्डा २ वटाको ४५ रुपैयाँ तोकेको छ ।
यसअघि भदौ ४ मा अन्डाको समर्थन मूल्य तोकिएको थियो । नयाँ सानो अन्डाको प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ भने एक्सएल, ठुलो र मिडियम अन्डाको प्रतिक्रेट मूल्यमा १५ रुपैयाँ बढेको छ । जसमा एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ थियो । अहिले १५ रुपैयाँ बढाएर ६०५ पुर्याइएको छ । ठुलो अन्डामा पनि प्रतिक्रेट १५ रुपैयाँले बढेर ५९० समर्थन मूल्य तोकिएको छ । मिडियम अन्डाको मूल्यमा पनि प्रतिक्रेट १५ रुपैयाँ बढाएर ५५० तोकिएको छ । यसअघि मिडियम अन्डाको प्रतिक्रेट मूल्य ५३५ थियो ।
२०- चीनको तिब्बत स्वायत्त क्षेत्रले बाढी तथा पहिरो प्रभावित नेपालका लागि बेलिब्रिजसहितका आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । शुक्रबार सिगात्सेस्थित रिझी नाकामा उक्त सामग्री नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । हस्तान्तरणस्थलमा चिनियाँ र नेपाली भाषामा ‘साझा हिमाल, साझा नदी-दुःखसुखमा एकताबद्ध : तिब्बत नेपालको सहयोगमा’ भन्ने सन्देश राखिएको थियो । विपद्का समयमा दुई देशका नागरिकबीच रहेको सहयोग र ऐक्यबद्धताको प्रतीकका रूपमा उक्त सन्देश प्रस्तुत गरिएको थियो । उपलब्ध गराइएको सहयोगमा बेलिब्रिजका प्यानल, मजबुत झुन्ड्याउने डन्डी, आधार संरचना, पुलका सतह तथा फलामे डन्डीलगायत सामग्री रहेका छन् ।
यी सामग्रीबाट दुई वटा बेलिब्रिज निर्माण गर्न सकिने र नेपालका पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापना तथा उद्धार र राहत कार्यमा प्रयोग गरिने जनाइएको छ । ल्हासामा तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच हस्तान्तरण कार्यक्रमसमेत भएको थियो । नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए । नेपालले विपद्पछि चीनले देखाएको शीघ्र सहयोगप्रति आभार व्यक्त गर्दै तिब्बत स्वायत्त क्षेत्रको समयमै प्राप्त सहयोगले दुई पक्षबीचको गहिरो मित्रता झल्काएको बताएको छ । साझा हिमाल र नदीले जोडिएका दुई पक्ष कठिन समयमा एकअर्कालाई सहयोग गर्ने सम्बन्धलाई यस सहयोगले थप बलियो बनाएको जनाइएको छ ।