काठमाडौँ । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ ।
‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गरेका सफल निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा चलचित्र तयार गरेका हुन् ।
भेनिस, बुसान र मुम्बईलगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘पूजा सर’ नामबाट सहभागी भएको यो चलचित्र नेपालमा ‘राजागञ्ज’ नामबाट प्रदर्शन हुने निर्मातामध्येका रामबाबु गुरूङले जानकारी दिए ।
उनले भने, ‘तराईको सौन्दर्यता, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यो पूर्ण रूपमा काल्पनिक भए तापनि वास्तविक घटनाबाट प्रेरित भएर तयार गरेका हौँ । विश्वभरका महोत्सवमा रूचाइएको यो चलचित्र नेपाली दर्शकको प्राथमिकता पर्नेमा विश्वस्त छौँ ।’
‘राजागञ्ज’मा आशा मगराती, पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरूङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई, नीरज श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
FACEBOOK COMMENTS