काठमाडौं । राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफूहरू व्यवस्थाविरुद्ध विद्रोहमा जान तयार रहेको बताएका छन् ।
आज शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा विचार राखेकै कारण आफ्नो पार्टीका नेता–कार्यकर्तालाई अपमानपूर्वक पक्राउ गरिएको बताए ।
संवैधानिक व्यवस्थाको उल्लङ्घन गर्दै सरकारले आफूहरूलाई निषेध गरिरहेको लिङ्देनको भनाइ छ ।
‘करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायतका आस्थाका बन्दीहरूलाई विचारकै कारणले, राजसंस्था मान्छु, हिन्दुराष्ट्र मान्छु, सङ्घीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ । आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्यूरोले पक्राउ गरेको समाचार आएको छ,’ उनले भने, ‘आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिङ्गो नेपाल सरकारलाई भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने औपचारिक रूपमै सरकारले भन्दिओस् कि हामी विद्रोहमा जाऔँ । राप्रपाले, राजा मान्छु भन्नेहरूले, हिन्दुराष्ट्र मान्छु भन्नेहरूले, सङ्घीयता मान्दिनँ, प्रदेश संरचना खोरज हुनुपर्छ भन्नेहरूले, देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचारीहरू दण्डित हुनुपर्छ भन्नेहरूले यसप्रकार प्रताडित हुनुपर्ने हो भने भन्नुपर्यो, हामी विद्रोहमा जान्छौँ । विद्रोहमा जाऊ, जङ्गल पस भन्नुपर्यो ।’
सांसद लिङ्देनको भनाइ जस्ताको तस्तै–
सरकारले नेपालको संविधानको धारा १७ (२७०), (२७४) को निरन्तर रूपमा उल्लङ्घन गरिराखेको छ । करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायतका आस्थाका बन्दीहरूलाई विचारकै कारणले, राजसंस्था मान्छु, हिन्दुराष्ट्र मान्छु, सङ्घीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ । आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्यूरोले पक्राउ गरेको समाचार आएको छ । आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिङ्गो नेपाल सरकारलाई भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने औपचारिक रूपमै सरकारले भन्दिओस् कि हामी विद्रोहमा जाऔँ ।
राप्रपाले, राजा मान्छु भन्नेहरूले, हिन्दुराष्ट्र मान्छु भन्नेहरूले, सङ्घीयता मान्दिनँ, प्रदेश संरचना खोरज हुनुपर्छ भन्नेहरूले, देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचारीहरू दण्डित हुनुपर्छ भन्नेहरूले यसप्रकार प्रताडित हुनुपर्ने हो भने भन्नुपर्यो, हामी विद्रोहमा जान्छौँ । विद्रोहमा जाऊ, जङ्गल पस भन्नुपर्यो । मानव अधिकार, प्रजातान्त्रिक हकअधिकार, संविधानले व्यवस्था गरेको सुविधाविरुद्ध सरकारको तर्फबाट जुन क्रियाकलाप भइराखेको छ, त्यसको घोर भर्त्सना गर्न चाहन्छु । र, सुजित केसीलाई अविलम्ब रिहाइ गरियोस् भन्ने माग गर्न चाहन्छु ।
FACEBOOK COMMENTS