काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ ।
उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग हिजो बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षणका लागि आफूहरूले सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानी लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौँ,’ अध्यक्षले मल्लले राजदूत युताकासँग भने । जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रूपमा बढी माग हुने वस्तुहरूको नेपालमै उद्योग खोल्न राजदूतसमक्ष आग्रह गरेका छन् ।
मल्ले नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जपानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार बढाउन सकिने विश्वास राजदूत युताकालाई दिलाएका छन् । जापानी निजी क्षेत्रसँग आफूहरूले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । ‘नेपाल र जपानबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको छ । जपानले जाईका लगायत आफ्ना विभिन्न दातृ निकायहरूमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ,’ अध्यक्ष मल्लले भने, ‘दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ । यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ ।’
यस्तै सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे । राजदूतसँगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रवर्द्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तर्राष्ट्रिय लगानीका लागि महत्वपूर्ण अवसर रहेको बताएका थिए ।
चेम्बर पदाधिकारीसँगको भेटपछि राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्व्बन्ध ऐतिहासिक भएको बताए । उनले भने, ‘दुई देशबीचको सम्बन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौं ।’ राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिवद्धता समेत जनाए ।
नेपाल सरकारलाई जपान सरकारका तर्फबाट र आफ्ना दातृ निकायमार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जपानको लगानी भित्र्याउनका लािग नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाई छ ।
FACEBOOK COMMENTS