काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीहरुलाई पार्टीको निर्वाचन आचार संहिता पालना गर्न निर्देशन दिएको छ ।
उम्मेदवार छनोट सिफारिस उपसमितिले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार-प्रसार गरेको देखिन आएको भन्दै यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार-प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन दिएको छ ।
साथै उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटो सहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।
प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचन सम्बन्धी सूचना प्रकाशित भए पश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिका बाट प्रचार-प्रसार गर्न सकिने समितिले स्पष्ट गरेको छ । पार्टीको निर्वाचन सम्बन्धी आचारसंहिता तथा यस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सदस्यहरूमा अनुरोध गरिएको छ ।

FACEBOOK COMMENTS