काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।
यसका लागि आज फागुन २८ गते दिउँसो ३ बजे र उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो २१ दिने निक्षेप संकलन उपकरणको चैत २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यसअघि फागुन ४ गते र ६ गते ४०/४० अर्ब रुपैयाँ र ११ गते ३० अर्ब रुपैयाँ तरलता खिचेको थियो । त्यस्तै, १३ गते र १८ गते २५ अर्ब रुपैयाँ, २१ गते ५० अर्ब रुपैयाँ, २५ गते २५ अर्ब रुपैयाँ तरलता खिचेको थियो ।
FACEBOOK COMMENTS