काठमाडौं । नेकपा एमालेका नेता डा. राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति आपत्ति जनाएका छन् ।
उनले उक्त अभियानले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लोकतान्त्रिक प्रणालीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन नै लोकतन्त्रको सार रहेको बताएका छन् । ‘‘तीबीचको शक्ति सन्तुलन नै लोकतन्त्रको सार हो,’’ भट्टराईले लेखेका छन्, ‘‘यसको अर्थ एउटाले अर्कोको अधिकार क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्नु हुँदैन भन्ने हो ।’’
उनले सर्वोच्च अदालतजस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णय नै अन्तिम मानिनुपर्ने भन्दै त्यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए । तर रास्वपाले अदालतको निर्णयविरुद्ध हस्ताक्षर संकलन गरेर निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथि आघात पुग्ने कार्य भएको उनको भनाइ छ ।
‘‘लोकतन्त्रमाथिको चुनौती सधैं विरोधीबाट मात्र आउँदैन,’’ उनले भनेका छन्, ‘‘कहिलेकाहीँ लोकतन्त्रका पक्षपाती हुं भन्नेहरूको व्यवहारले पनि त्यसमा हानी पुर्याउँछ ।’’
भट्टराईका अनुसार अदालतको निर्णयविरुद्ध यस्तो कदम चाल्नु संवैधानिक प्रणालीमाथिको प्रश्न मात्र नभई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको पनि आघात हो ।
रास्वपाले पार्टीका सांसद रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट आएको फैसलाविरुद्ध ‘जनताको मतको कदर गरौँ’ भन्ने नारासहित हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । तर यसले राजनीतिक वृत्तमा आलोचना पनि खेपिरहेको छ ।
FACEBOOK COMMENTS