काठमाडौं । नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवाड्र्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ।
यस पटको कार्यक्रम ’रेडबुल ईनर्जी ड्रिक्स’ले मुख्य प्रायोजन गरेकोले रेडबुल १३ औं कृति अवाड्र्स २०८३ नामाकरण गरिएको छ।
यस बर्षको आयोजनालाई नेपाल मिडिया सोसाईटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिंग एशोसियसन, एकोर्याब, र ब्रोडकास्टर्स फोरम पनि सह आयोजकका रुपमा सहयोगी भएका छन्।
भने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल सरकारको बिज्ञापन बोर्डले ईन्डोर्समेन्ट सहित सम्बन्धन मान्यता प्रदान गरेका छन्।
नेपाल विज्ञापन संघ नेपाल (आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य रूपमा अवार्ड समारोह आयोजना गर्न लागिएको हो।

‘कृति अवाड्र्स’ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान गर्दै एजेन्सी, सिर्जनाकर्ता, र ब्राण्डहरूलाई सम्मान गर्दै आएको छ। १३ औं संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रको सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने मुख्य थलोको रूपमा पहिचान बनाएको छ।
यसपटक टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियान गरी ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइनेछ भने यस बर्ष डिजिटल, ईभेन्टस् र ईन्टेग्रेटेड गरी ३ वटा नयाँ क्षेत्र सहित २४ वटा नयाँ विधा समावेश गरिएको छ।
पारदर्शी मूल्यांकन लागि काठमाण्डौं विश्वबिद्यालय ब्यबस्थापन संकायका डिन प्रा. डा. बिजय के.सी.को अध्यक्षतामा बरीष्ठ सञ्चारकर्मी श्री भारती सिलवाल गिरी र बरिष्ठ मार्केटिंग विज्ञ श्री रबिन्द्रमान श्रेष्ठ क्षेत्रगत विशेषज्ञहरू समावेश भएको जुरी गठन गरिएको छ, जसले विषयगत मुल्यांकनकर्ताहरुको मनोनयन गरी विजेताहरूको चयन गर्नेछ। विज्ञापन संघ नेपाल (आन)का अनुसार यस वर्ष मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ ।

इच्छुक विज्ञापन एजेन्सी तथा ब्राण्डहरूले २०८० बैशाख १ गते देखि २०८३ आषाढ मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सक्नेछन्।
कृति अवाड्र्स आयोजनाको बारेमा घोषणा गर्दै आनका अध्यक्ष सुदिप थापाले यस पटक धेरै विधाहरुलाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको जानकारी दिए। ‘कृति अवाड्र्सले शुरुवातदेखिनै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्धन गर्दै आएको छ।
यस पटक यसलाई थप विधाहरुमा बिस्तार गरिएको छ । यसले नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन सहयोग गर्नेछ, उनले भने। कृति अवाड्र्सले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने र विज्ञापन बजारलाई थप बिस्तार गर्ने अपेक्षा गरिएको छ।