काठमाडौं, १५ भदौ । ग्लोबल आईएमई बैंकले अविरल वर्षाका कारण नवलपरासीको वर्दघाट सुस्ता पश्चिममा आएकोे विनाशकारी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ ।
बाढीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको जनाएको छ । बैंकले विपतबाट प्रभावित रामग्राम नगरपालिका–१८ पम्फापुरका १३५ घरपरिवारलाई प्रतिघरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटर (पानी)लगायत खाद्य सामग्री वितरण गरेको हो ।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता तथा रामग्राम नगरपालिका–१८ का वडाअध्यक्ष गोपाल डिस्वा मगरको उपस्थितिमा उक्त राहत सामग्री पम्फापुरका पीडितलाई हस्तान्तरण गरिएको हो ।
FACEBOOK COMMENTS