काठमाडौं । विश्वविख्यात प्रविधि कम्पनी सामसुङले नेपाली बजारमा आफ्ना अत्याधुनिक फोल्डेबल स्मार्टफोन र नयाँ स्मार्टवाचहरू सार्वजनिक गरेको छ ।
कम्पनीले प्रिमियम अनुभव प्रदान गर्ने उद्देश्यले नयाँ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८ का साथै ग्यालेक्सी वाच अल्ट्रा२ र वाच९ बजारमा ल्याएको हो ।
यी नयाँ डिभाइसहरूको बिक्री आगामी अगस्ट २६ देखि देशभरका आधिकारिक स्टोरहरूबाट सुरु हुने कम्पनीले जनाएको छ ।
नयाँ ग्यालेक्सी जेड सिरिजले फोल्डेबल प्रविधिको अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ । विशेषगरी उत्पादकत्व र मल्टिटास्किङका लागि डिजाइन गरिएको जेड फोल्ड८ अल्ट्रामा ८ इन्चको ठूलो मुख्य डिस्प्ले र शक्तिशाली क्यामेरा प्रणाली रहेको छ ।
यसमा प्रयोगकर्ताले ‘भोइलेट स्याडो’ रङलाई सबैभन्दा बढी मन पराएका छन् । त्यस्तै, नयाँ डिजाइनमा आएको जेड फोल्ड८ गेमिङ र भिडियो कन्टेन्टका लागि उपयुक्त छ भने आकर्षक जेड फ्लिप८ मा ५० मेगापिक्सेलको शक्तिशाली क्यामेरा र फ्लेक्स क्याम फिचर समावेश गरिएको छ ।

स्वास्थ्य व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामसुङले ग्यालेक्सी वाच अल्ट्रा२ र वाच९ पनि सार्वजनिक गरेको छ । ‘स्न्यापड्रागन वेयरेबल एलाइट प्लेटफर्म’ द्वारा सञ्चालित यी स्मार्टवाचहरूले प्रयोगकर्ताको दैनिक स्वास्थ्य अवस्थालाई निरन्तर ट्र्याक गरी उपयोगी सुझावहरू प्रदान गर्छन् ।
उत्कृष्ट ब्याट्री ब्याकअप र आरामदायी डिजाइन भएका यी घडीहरूले हातबाटै स्वास्थ्यको पूर्ण जानकारी राख्न सहयोग पुर्याउने कम्पनीको दाबी छ ।
नेपाली ग्राहकहरूको सहजताका लागि सामसुङले आकर्षक किस्ताबन्दी योजना पनि ल्याएको छ । नागरिकता मात्र पेस गरेर २४ महिनासम्मको सजिलो ईएमआई सुविधामा यी डिभाइसहरू खरिद गर्न सकिनेछ ।
मूल्यको हकमा, ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा (५१२ जीबी) को ३ लाख ३९ हजार ९९९ रुपैयाँ, जेड फोल्ड८ (२५६ जीबी) को २ लाख ७४ हजार ९९९ रुपैयाँ र जेड फ्लिप८ को १ लाख ९४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै, ग्यालेक्सी वाच अल्ट्रा२ को मूल्य १ लाख २३ हजार ४९९ रुपैयाँ र वाच९ को सुरुवाती मूल्य ६६ हजार ४९९ रुपैयाँ रहेको छ ।