काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुने भएकाे छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।

के थियो मुद्दा ?

नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध पीडित भनिएकी किशोरीका दाजुले गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा जाहेरी दिएका थिए। जाहेरीमा लामिछानेले भदौ ५ गते बहिनीलाई नगरकोट घुम्न लगेको र त्यहाँबाट राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा ल्याएर जबरजस्ती करणी गरेको आरोप लगाएको थियो ।

प्रहरीले भदौ २२ गते जाहेरी दर्ता गरी अनुसन्धान थालेको थियो । अनुसन्धानबाट पीडित भनिएकी नाबालिका र लामिछाने उक्त दिन राति सिनामंगलस्थित होटलमा बसेको पुष्टि भएको थियो । तर जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका थिए । मुद्दा लागेपछि केही समय त्यहाँबाट बेपत्ता भएका उनी नेपाल प्रहरीले इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेपछि असोज २० गते नेपाल आएका थिए । प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।
कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भएको थियो । बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो। त्यसयता लामिछाने केन्द्रीय कारागार सुन्धारामा थिए। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध लामिछानले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
उक्त निवेदन उपर सुनवाइ गर्दै उच्च अदालत पाटनले २०७९ पुस २८ गते १० सर्तसहित २० लाख धरौटी लिएर उनलाई न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले रिहा गर्न आदेश दिएको थियो।
त्यसअघि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेशको थियो ।
त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दिएको थियो ।।