काठमाडौं । नेपाल महिला महासंघ (एफडब्ल्यूईएएन)की अध्यक्ष ज्ञवालीलाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘बेष्ट ब्रोडकास्टिङ मिडिया’का रूपमा ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरेको हो ।
फागुन २० गते आयोजित अवार्ड वितरण समारोहका प्रमुख अतिथि विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष, सुष्मा महरा र कर्पोरेट मिडियाकी बिजनेश डिरेक्टर संगीता खत्रीलगायतले संयुक्त रूपमा उनलाई अवार्ड प्रदान गरे ।
कर्पोरेट बिजनेश अवार्डको यो संस्करणमा चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।
को हुन् ज्ञवाली ?



नेपालको उद्यमशीलता र मिडियाको क्षेत्रमा क्रियाशील रहनुभएकी शोभा ज्ञवाली नेपाल महिला महासंघ (एफडब्ल्यूईएएन) को अध्यक्ष हुनुहुन्छ । महिला उद्यमीहरूलाई सशक्तीकरण र समर्थन गर्न प्रमुख भूमिका खेल्दै आउनुभएकी उहाँ नेपाल फिलिपिन्स चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीकी पूर्वध्यक्ष समेत हुनुहुन्थ्यो ।

यस्तै उहाँ देशकै अग्रणी सञ्चार समूह नेपाल रिपब्लिक मिडियाको संस्थापक निर्देशकको भूमिकामा पनि हुनुहुन्छ । उहाँ नेतृत्वको सञ्चार समूहअन्तर्गत ब्रोडसिट दैनिक नागरिक र रिपब्लिका, दुईवटा रेडियो तथा साप्ताहिक, मासिक र वार्षिक प्रकाशनहरू सञ्चालनमा छन् । यसबाहेक शोभा ज्ञवाली अधिवक्ताका साथै दुईवटा पुस्तक ‘सम्पूर्ण आकाश’ र ‘संघर्ष’ पुस्तकको लेखिका पनि हुनुहुन्छ ।
‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)