काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेको छोटो अवधिमै उल्लेख्य संख्यामा अपराधमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ । उनले परिसरको कमाण्ड सम्हालेको ९ दिनमै विभिन्न आपराधिक गतिविधिमा संलग्न रही फरार रहँदै आएका २५० जना प्रतिवादी पक्राउ परेका हुन् ।
अधिकारीले परिसरको कमाण्ड सम्हालेदेखि अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै चलाएका छन् । कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेकाहरू लुकीछिपी बसेको भए तत्काल जानकारी दिन पनि एसएसपी अधिकारीले अनुरोध गरेका छन् ।
‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिने छ,’ उनले भने, ‘प्रतिवादीलाई भने पक्राउ गरेर कानुनको दायरामा ल्याइने छ ।’ उनले फरार प्रतिवादीहरूलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुका साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए ।
पक्राउ परेका प्रतिवादीहरू जालसाजी, जुवातास, सम्बन्धविच्छेद, सार्वजनिक अपराध, किर्ते, लागुऔषध, चेक अनादर, चोरी, गाली बेइज्जतीलगायत मुद्दाका रहेको एसएसपी अधिकारीले बताए ।
कैद सजाय भुक्तान तथा जरिवाना असुल गर्नका लागि अदालतले फरार प्रतिवादीको सूची प्रहरी कार्यालयमा पठाउने गर्छ । सोही आधारमा फरार प्रतिवादी खोजेर पक्राउ गरी प्रहरीले अदालतमा उपस्थित गराउँछ ।
समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन प्रहरीको सक्रियता बढाइएको एसएसपी अधिकारीले बताए ।
FACEBOOK COMMENTS