काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरणविक्रम शाही समग्रमा ११-अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन्। उनले आज १-अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सद्भाव आचार्य र राहुल बीकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावना बलियो बनाएका छन्।
एमेच्योरद्वय सद्भाव र राहुल ५४-होलको समाप्तिमा ७-अन्डर २०९ को स्कोरमा संयुक्त रूपमा दोस्रो स्थानमा रहे। गोकर्ण गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन सद्भावले दिनको उत्कृष्ट कार्ड निकाले। ६-अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए। राहुलले २-अन्डर ७० को स्कोर दर्ज गरे।
धरानका प्रो निरज तामाङले १-अन्डर ७१ को स्कोर जोडे। समग्रमा४-अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए। दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५-ओभर ७७ को खराब प्रदर्शन गरे। यो प्रदर्शनमा उनी समग्रमा १-अन्डर २१५ सहित पाँचौं स्थानमा तल झरे। जयराम श्रेष्ठ आज १-अन्डर ७१ को स्कोरमा समग्रमा इभन-पार २१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन।
समग्रमा २-ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजवाहक, राजेन्द्र थापामगर र सुनिल केसीले संयुक्त रूपमा सातौं स्थान बाँडे। रवि र कृष्णमानले समान १-अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए। राजेन्द्रले २-ओभर ७४ खेले। फाइनल ग्रुपमा खेलेका सुनिलले बिर्सनलायक ९-ओभर ८१ को स्कोर निकाले। यो स्कोरमा उनी पाँच स्थान तल झरे।
अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे। ६ होल सकिँदा ४-अन्डर स्कोर गरिसकेका थिए भने नवौं होलको बोगीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। तर, यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए। १२औं, १५औं र १६औं होलमा एक-एक सट खेर फाले। १३औं होलको बर्डीका बाबजुद ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए। तर पनि अन्तिम १८ होलको खेल बाँकी छँदा उनले आफ्नो अग्रता ४ स्ट्रोकमा पुर्याएका छन्।
सद्भावले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार गर्ने क्रममा कुल सात बर्डी प्रहार गरे। पहिलो, तेस्रो र सातौं होलमा एक-एक सट बचाउँदा फ्रन्टनाइन ३-अन्डर ३३ मा सकाए। यसपछि ११औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गरे। १५औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३३ मा पूरा गरे।
अर्का एमेच्योर राहुलले सातौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्टनाइन २-अन्डर ३४ मा पुरा गरे। ११औं होलको बोगीविरूद्ध १५औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।
चौथो स्थानमा रहेका निरजले फ्रन्ट नाइन १-ओभर ३७ र ब्याक नाइन २-अन्डर ३४ मा खेले। उनले पहिलो र सोह्रौं होलमा एक-एक सट खेर फाले भने १२औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे।
चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रूपैयाँ रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
FACEBOOK COMMENTS