काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले नेपालका कानुन व्यवसायीहरूलाई अदालत नचाहिएको बताएका छन् ।
सर्वोच्च अदालतकैविरुद्ध कालो ब्यानर टाँगेर न्यायालयको हुर्मत लिने कानुन व्यवसायीहरूले अदालतको सट्टा खुमलटार, टेकु, सानेपा र आलोकनगरलाई मान्न थालेको थापाको भनाइ छ । आइतबार साँझ एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेता थापाले भने, ‘उहाँहरू (कानुन व्यवसायी)लाई अदालत चाहिएको छैन । उहाँहरूलाई खुमलटार, टेकु, सानेपा र उहाँहरूलाई आलोकनगर कोटेश्वर परमधाम बनेका छन्, न्यायालय होइन ।’
स्थानीय तह निर्वाचनका विषयमा विभिन्न थरीका विभिन्न कानुन व्यवसायी, संविधानविद् र वकिलहरूले संविधानको अपब्याख्या गरेको भन्दै थापाले पछिल्लो समय उनीहरूले इज्जतै गुमाइसकेको टिप्पणी समेत गरेका छन् । ‘नेपालका कानुनविद्हरू अहिले कुन इज्जतका छन् ? उनीहरूले अहिले गरिरहेको भर्चुअल आन्दोलनमा हेर्नुस् न कस्ता छन् भनेर । कुन कानुनका कुरा गरेका छन् ।’
थापाले अगाडि भनेका छन्, ‘आम रूपमा म सबै कानुन व्यवसायीहरूलाई, वकिलसापहरूलाई भन्दिनँ, तर स्वघोषित विद्वान मित्रहरूको हेर्नुभयो भने आज न्यायालयमा भ्रष्टाचार छ भनेर कालो ब्यानर टाँगेर न्यायालयको हुर्मत लिँदै उहाँहरू भर्चुअल जुलुस गरिरहनुभएको छ । भर्चुअल आन्दोलनका नाममा नाराबाजी गरिरहनुभएको छ । न्यायालयलाई बन्धक बनाउनुभएको छ । जनताको न्याय पाउने अधिकारलाई कुण्ठित गर्नुभएको छ ।’
आफू काुननको विद्यार्थी र ज्ञाता नभए पनि संविधानको स्प्रिट, शब्द, भावना र कानुनका अक्षरहरू पढेर सामान्यतः ब्याख्या गर्नसक्ने व्यक्ति भएकाले कानुन व्यवसायीले गरेको गलत ब्याख्याको प्रतिवाद गर्दै आएको पनि उनले स्पष्ट पारेका छन् । ‘म कानुनको ज्ञाता होइन, तर कानुनको स्प्रिट, संविधानको स्प्रिट र शब्द बुझेर ब्याख्या गर्न सक्ने मानिस हुँ । त्यसो भएको भएर आवधिक निर्वाचन संविधान अनुसार वैशाखमै गर्नुपर्छ ।’
वर्तमान सरकारले संविधानले तोकेबमोजिम समयमा निर्वाचन गर्न सकेन भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई अक्षम घोषणा गर्दै पदमुक्त गर्नसक्ने जिकिर थापाले गरेका छन् ।
हेर्नुहोस् पूरा अन्तर्वार्ता–
यो पनि पढ्नुहोस्–
उपलब्धीबिहीन आन्दोलन छोडेर चुनावतिर लाग्यो नेपाल बार, चैतमा निर्वाचन गर्ने निर्णय
सकियो बार आन्दोलन : कार्यसमिति बैठकमा चण्डेश्वरको आलोचना, सेतोपट्टी आन्दोलनको प्रशंसा
FACEBOOK COMMENTS