भाद्र ३१,काठमान्डू । प्रतिष्ठित टाइम म्यागजिनले विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । सूचीमा तालिबानका सहसंस्थापक र अहिलेको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादर परेका छन् ।
बरादरलाई टाइमले ‘शान्त, रहस्यमयी, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ता कम दिने’ व्यक्तिका रुपमा चित्रित गरेको छ । बरादार तालिवानका संस्थापक नेतामध्येका एक हुन् । उनले सन् १९९४ मा तालिबानको गठन गरि तालिवानको राजनीतिक कार्यालयका प्रमुख भए ।
सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइक भए ।
सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो । सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन ।
त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गथ्र्याे । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा ग¥यो ।
उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए । पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए ।
सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो । उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे ।
इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो ।
FACEBOOK COMMENTS