काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ ।
साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन् ।
विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ ।
साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।
यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो ।
यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वत: सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ ।
विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ । जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक–एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपियाँ जित्नेछन् । उनीहरूले कर कटाएर खुद १ लाख रुपियाँ प्राप्त गर्नेछन् ।
यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपियाँ जित्नेछन् । यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ ।
आजको कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।