काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण चीनको तिब्बतमा रहेका ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी नेपाल प्रवेश गराएको छ । काम विशेषले तिब्बत पुगेका उनीहरूमा एक नाबालकसमेत रहेका छन् । चीन सरकारले उद्धार गरेका उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको हो । बाढीका कारण सीमावर्ती क्षेत्रमा आवतजावत प्रभावित भएपछि चीनमा रहेका नेपालीको उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको जनाइएको छ ।
२- भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित जिल्लामा उद्धार कार्यका लागि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति र वितरणलाई निरन्तरता दिएको जनाएको छ । भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड कटान गरेपछि सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर तथा ग्यास बुलेट आउन नसक्ने अवस्था बनेको निगमले जनाएको छ । त्यसपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा त्रिभुवन राजपथ हुँदै वैकल्पिक रूपमा पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्ति भइरहेको छ । निगमका अनुसार काठमाडौं उपत्यकाका लागि आज विभिन्न ब्रान्डका करिब २४ हजार ५०० ग्यास सिलिन्डर ल्याउने व्यवस्था गरिएको छ ।
भोलिदेखि थप परिमाणमा ग्यास नियमित रूपमा ल्याइने निगमले जनाएको छ। तराईका ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै उपत्यकामा ल्याउने व्यवस्था मिलाइएको छ । खोज तथा उद्धारमा प्रयोग भइरहेका हेलिकप्टरका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सैनिक ब्यारेकबाट हवाई इन्धन भर्ने व्यवस्था गरिएको छ । भदौ १० गतेदेखि हालसम्म हेलिकप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन पठाइसकिएको निगमले जनाएको छ। त्यहाँबाट इन्धन भर्ने काम नियमित भइरहेको छ । त्यस्तै, निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रका सञ्चालनमा रहेका पेट्रोल पम्पलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ । उद्धार कार्यलाई सहज बनाउन सार्वजनिक बिदाका दिनसमेत मागअनुसार पेट्रोल र डिजेल बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ । बाढीबाट उद्धार गरी प्रभावित क्षेत्रका विभिन्न आश्रयस्थलमा राखिएका व्यक्तिका लागि आवश्यक खाना पकाउने ग्याससमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका लागि ५०० थान ग्यास सिलिन्डर पठाउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

३- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रमा विद्यालय पुनःनिर्माण गर्दा आवासीय सुविधा र विद्यालय बससहितका ‘ठूला विद्यालय’ निर्माणको अवधारणामा अघि बढ्न सकिने बताएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा नेपाल शिक्षा समूहका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले बाढीबाट शिक्षा क्षेत्रमा परेको क्षति, विद्यार्थीको पढाइ निरन्तरता, तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनाका विषयमा छलफल गरेका थिए । छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिले प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका साथै विद्यार्थीको पढाइलाई निरन्तरता दिन सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले प्रभावित बालबालिकाको शिक्षा तथा बसोबास व्यवस्थापनमा सहयोग गर्ने र तत्कालीन तथा दीर्घकालीन आवश्यकताका लागि स्रोत जुटाउने प्रयास भइरहेको जानकारी दिएका थिए । मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले अन्य देशमा विपद्पछि समुदाय तथा शैक्षिक क्षेत्रको पुनःस्थापनाका लागि अपनाइएका अभ्यासको अध्ययन गर्न शिक्षा समूहका प्रतिनिधिलाई आग्रह गरे।
त्यस्ता अनुभवबाट नेपालमा पुनःस्थापना तथा पुनःनिर्माणको योजना बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । मन्त्रालयका प्रवक्ता श्रीचन्द्र भट्टराईले विकास साझेदारबाट प्राप्त हुने सहयोग दोहोरिन नदिन सरकारी निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उपलब्ध स्रोतसाधनलाई आवश्यकता र क्षतिको अवस्थाका आधारमा लक्षित क्षेत्रमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए । शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालले प्रस्तुत गरेको प्रारम्भिक तथ्यांकअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका शैक्षिक संस्थासँग सम्बन्धित २५१ विद्यार्थी तथा शिक्षक प्रभावित भएका छन् ।
तीमध्ये २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन रहेको विवरण छ । त्यस्तै, १७ विद्यार्थी र एक शिक्षकलाई बाढीले बगाएको तथा एक विद्यार्थीको अवस्था अझै खुल्न नसकेको विभागले जनाएको छ। बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकको खोजी तथा अवस्थाबारे विवरण अद्यावधिक गर्ने काम भइरहेको छ । बाढीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका भवनलगायत भौतिक संरचनामा समेत पूर्ण तथा आंशिक क्षति पुगेको छ। कुन विद्यालयमा कति क्षति भयो भन्ने जिल्लागत विस्तृत विवरण संकलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । मन्त्रालयले क्षतिको यकिन विवरण प्राप्त भएपछि प्रभावित विद्यार्थी तथा शिक्षकलाई राहत, विद्यालय पुनःस्थापना र भौतिक संरचनाको पुनःनिर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ। साथै, विद्यार्थीको पढाइ लामो समय प्रभावित हुन नदिन वैकल्पिक व्यवस्थासहित शैक्षिक गतिविधिलाई निरन्तरता दिने विषयमा समेत समन्वय भइरहेको छ ।
४- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम भइरहेको छ । आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको छ । सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठूलठूला ढुंगाहरु (डेब्रिस) छन् । रातदिन निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको छ । यससँगै उद्धार टोली त्यसभित्र १५-२० मिटर परसम्म पुगिसकेको छ भने एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ। थप ७ वटा बोल्डर (ठूला ढुंगा) ब्लास्टिङका लागि तयारी भएको छ । यो सुरुङ १७० मिटर जति लम्बाइको छ । माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिने बताइएको छ ।
५- सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत एक इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर सातौँ तहका कृष्ण नारायण यादव रहेका छन्। गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग घुस मागिरहेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले यादवलाई सेवाग्राहीबाट घुसबापत ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको जनाएको छ। उनको साथबाट स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँसमेत बरामद भएको छ । यादवलाई भदौ १७ गते पक्राउ गरिएको हो । भदौ १८ गते विशेष अदालतको आदेशबाट घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
६- विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका सात निर्णय सार्बजनिक भएका छन् । मन्त्रिपरिषद्को बैठकका सात निर्णय प्रवक्ता सस्मित पोखरेलले सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: १- एसियाली विकास बैंकबाट, भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने । २-रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने । ३- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् कुल २५,००० मे.टन परिमाणको चिनी १ प्रतिशत भन्सार महशुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने ।
४- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाईते भएमा निशुल्क औषधोपचार तथा मृत्यु भएमा निजम्मा परिवारलाई प्रति मृतक १० लाख राहत उपलब्ध गराउने । ५- वि.सं. २०८३ साल भदौ २३ गते जेन्जी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने । ६- संवत् २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको तेह्रौं दिनको पुण्यतिथिका दिन अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने । ७- नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायणप्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।
७- सरकारले यही भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । प्रवक्ता पोखरेलले भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिएका हुन् ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अन्तर्राष्ट्रिय समुदायसँग राहत भन्दा क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनका कारण नेपालमा आएको महाविपतमा हाम्रो देशको नगण्य योगदान रहेको भन्दै अब यसको प्रमुख कारण सिर्जना गर्ने देशहरुले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।उनले चीन, भारत, अमेरिका जस्ता देशले कार्बन उत्सर्जनमा ठुलो भूमिका खेलेको भन्दै अब राहत माग्न नहुने तर क्षतिपुर्ति दाबि गर्नुपर्ने बताए । सांसद झाले प्रधानमन्त्रीलाई समेत विशेष आग्रह गर्दै संयुक्त राष्ट्र संघसहितका अन्तर्राष्ट्रिय मन्चहरुमा गएर नेपालले यो विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाव दिए ।
९- नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता शेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर ८.७६ प्रतिशतले बढेको छ भने चिर्ख्वा हाइड्रोको शेयर ८.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी पियोर इनर्जीको शेयर १३.३३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४० करोड ९ लाख बराबरको कारोबार भएको छ भने सानिमा मिडल तामोरको १३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
१०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको विशेष सिक्का सार्वजनिक गरिएको छ । जीवित राष्ट्रपतिको तस्बिर अमेरिकी मुद्रामा राखिएको यो एक शताब्दीपछि पहिलो घटना भएको बताइएको छ । अमेरिकी टकसालले बुधबार अमेरिकाको २५०औँ वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिरसहितको एक डलरको विशेष सिक्का सार्वजनिक गरेको हो। सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘स्वतन्त्रता’ र ‘हामी ईश्वरमा विश्वास गर्छौँ’ भन्ने शब्द राखिएका छन् । अमेरिकी टकसालका अनुसार यो सिक्का अमेरिकाको ऐतिहासिक वार्षिकोत्सवको भावना, गौरव र विरासतलाई झल्काउने उद्देश्यले तयार पारिएको हो । २५ वटा सिक्काको एक समूह ६१ डलर तथा १०० वटा सिक्काको एक थैलो १५४ डलर ५० सेन्टमा बिक्रीका लागि राखिएको थियो । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का मौज्दातमा नरहेको देखिएको थियो ।
यी सिक्का वासिङ्टन डिसीस्थित अमेरिकी टकसालको पसलमा राखिएका स्वचालित बिक्री मेसिनमार्फत समेत बिक्री गरिएको थियो । सुनौलो रङको देखिए पनि सिक्कामा वास्तविक सुन प्रयोग गरिएको छैन । अनुसार सिक्का ८८.५ प्रतिशत तामाबाट बनेको छ भने बाँकी भागमा जस्ता, म्याङ्गानिज र निकेल प्रयोग गरिएको छ । यसअघि गत मेमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने तयारी भइरहेको बताएका थिए । तर अमेरिकी कानुनले जीवित व्यक्तिको तस्बिर अमेरिकी नोटमा राख्न प्रतिबन्ध लगाएको छ । ट्रम्पका समर्थक सांसदहरूले त्यसमा अपवाद बनाउन कानुन ल्याउने प्रयास गरे पनि प्रस्ताव हाल अघि बढ्न सकेको छैन । अमेरिकी मुद्रामा जीवित राष्ट्रपतिको तस्बिर राखिएको यो पहिलो घटना भने होइन । सन् १९२६ मा अमेरिकाको १५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर राखिएको थियो । ट्रम्प प्रशासनले ट्रम्पको तस्बिर अंकित नयाँ सिक्काका लागि सन् २०२० मा पारित सिक्का पुनःडिजाइनसम्बन्धी कानुनलाई समेत आधार बनाएको छ । उक्त कानुनले सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न रोक लगाए पनि अगाडिको भागमा त्यस्तो स्पष्ट प्रतिबन्ध नरहेको प्रशासनको तर्क छ । सन् १८६६ को थायर संशोधनले अमेरिकी नोटमा जीवित व्यक्तिको तस्बिर राख्न प्रतिबन्ध लगाएको छ। तर उक्त व्यवस्था परम्परागत रूपमा सिक्कामा लागू नहुने मानिँदै आएको छ ।
११- रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले प्रहरी नियमावलीअनुसार उपलब्ध हुने सेवा–सुविधाका अतिरिक्त राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ । यस्तै, दिवंगत प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ । दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई नेपाल प्रहरी विद्यालयमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ । भोटेकोशी बाढीमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई राहत तथा सामाजिक सुरक्षाका थप व्यवस्था गर्ने उद्देश्यले उक्त निर्णय गरिएको प्रहरीले जनाएको छ ।
१२- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बिहीबार रसुवा बाढीपछिको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने विषयमा घिसिङले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेको जानकारी दिएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सुरुङ भित्र उद्धार गर्न आफुले उपकरण र दक्ष उद्धार टोली परिचालन गर्नुपर्ने सुझाव दिएको बताए । घिसिङले उद्धारका लागि कुनै विशेष प्रविधिको आवश्यकता नरहेको प्रधानमन्त्रीलाई बताएको जानकारी दिए । बुधबार प्रधानमन्त्री शाहले संसदमा बोल्दै सुरुङबाट उद्धारको प्रविधि विश्वमा नै नरहेको अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ । घिसिङले उद्धारमा मुख्य चुनौती जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलसम्म पुर्याउनु रहेको बताउदै भने- ‘कुनै विशेष प्रविधि चाहिने होइन, सामान्य उपकरण र दक्ष उद्धार टोलीबाटै काम गर्न सकिन्छ ।मुख्य समस्या जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलमा पुर्याउनु हो।’ घिसिङले उपकरण समयमै घटनास्थलमा पुर्याउन सके उद्धार कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन सकिने बताए । घिसिङ यसअघि नै जलविद्युत आयोजनाका सुरुङमा भएको उद्धारका कामको अवलोकन गरेर फर्किएका छन् ।
१३- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२५२ जनाको शव फेला परेको हो । जसमा रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २०८ जनाको शव फेला परेको छ । अहिलेसम्म ९५ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार २१६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९०० जना, रसुवाका ८६५, नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १४ तथा अध्यागमन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । यसैगरी, ५८३ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । त्यसैगरी अहिलेसम्म जनप्रतिनिधि ७ जना, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ जना र निजी विद्यालयका शिक्षक एक जना सम्पर्कविहिन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरेको छ भने बाढीबाट हालसम्म ३०१ घाइते भेएकोमा १९५ जना अस्पतालबाट डिस्चार्ज भैसकेका छन् ।
१४- एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाएका थिए भने इशान पाण्डेले २०, रोहित पौडेलले १० तथा दिपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको थियो । त्यस्तै, मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिए भने ललित राजबंशीले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । नेपालले यसअघि बहराइनलाई पराजित गरेको थियो । प्रतियोगितामा अब नेपालले तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।
१५- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोपछि सडकको नयाँ ट्रयाक खोल्न रुख कटानको काम शुरु भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक खोल्न दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ । साथै सडक खोल्न आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जानकारी दिएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने जनाइएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै सडक खोल्ने काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसअघि कृष्णभीरको पहाड पट्टि ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरेको थियो । ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कार्य समेत गर्ने, कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने निर्णय मन्त्रालयले गरेको जनाएको छ । साथै, कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने र यी विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७ हजार ६ सयले बढेर तोलाको ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १४५ रुपैयाँले बढेर ४७२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो ।
१७- डिएफबी कपको पहिलो चरणको खेलमा बायर्न म्युनिखले भीएफएल ओस्नाब्रुकलाई ४-१ गोलअन्तरले हराउँदै दोस्रो चरणमा स्थान बनाएको छ । गएराती सम्पन्न खेलमा घरेलु टोली ओस्नाब्रुकले पाँचौँ मिनेटमै रोबिन माइजनरको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो । करिब ३० मिटर टाढाबाट माइजनरले गरेको प्रहार बायर्नका गोलरक्षकलाई छक्याउँदै गोलमा परिणत भएको थियो । तर बायर्नले लामो समय पछि पर्न दिएन । खेलको १८औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। त्यसको छ मिनेटपछि टोम बिसफले गोल गरेपछि बायर्नले २-१ को अग्रता बनाएको थियो । खेलको दोस्रो हाफमा पनि बायर्नले खेलमा नियन्त्रण कायम राखेको थियो । खेलको ७३औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै टोलीको अग्रता ३-१ बनाए । खेलको ८६औँ मिनेटमा प्राप्त पेनाल्टीमा केनले गोल गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरेपछि बायर्न ४-१ ले विजयी भएको थियो । यो जितसँगै उपाधि रक्षक बायर्न म्युनिख डिएफबी कपको दोस्रो चरणमा पुगेको छ । बायर्नले पहिलो चरण लगातार ३२औँ पटक पार गरेको हो । सन् १९९४ मा भेस्टेनबर्ग्सरोइटसँग पराजित भएपछि बायर्न पहिलो चरणबाटै बाहिरिएको छैन ।
१८- पृथ्वीको औसत तापक्रम आगामी समयमा कम्तीमा १.८ डिग्री सेल्सियससम्म बढ्ने निश्चितजस्तै देखिएको छ । तापक्रम यो तहसम्म पुगेमा ठूलो मात्रामा हिमनदी पग्लिने, समुद्री सतह बढ्ने तथा विश्वभरका तटीय सहर र मानव जीवनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदनले पृथ्वीको तापक्रम सन् २०१५ को पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियसको सुरक्षित सीमाभन्दा निकै माथि पुगिसकेको जनाएको छ । प्रतिवेदनका अनुसार तापक्रममा हुने प्रत्येक अतिरिक्त वृद्धिले चरम मौसम, हिमनदी पग्लिने, पारिस्थितिक प्रणालीमा क्षति र तटीय सहर डुब्ने जोखिम थप बढाउनेछ । संयुक्त राष्ट्रसंघले यसअघि सार्वजनिक गरेका विभिन्न प्रतिवेदनले पनि पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएका छन् । पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिपूर्वको अवस्थाको तुलनामा ३ डिग्री सेल्सियससम्म बढेमा सन् २१०० सम्ममा एक चौथाइभन्दा बढी हिमनदी पग्लिन सक्ने अनुमान गरिएको छ । यसबाट समुद्री सतह १३ सेन्टिमिटरसम्म बढ्न सक्नेछ। यस्तै, हालको अवस्था निरन्तर रहेमा सन् २०५० सम्ममा विश्वव्यापी खाद्य उत्पादनमा १४ प्रतिशतसम्म कमी आउन सक्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार यस शताब्दीमा विश्वको औसत तापक्रमलाई पुनः १.५ डिग्री सेल्सियसको सीमामा ल्याउन सकिने सम्भावना अझै रहेको छ । त्यसका लागि तापक्रमलाई करिब १.८ डिग्री सेल्सियसभन्दा तल राख्नुपर्नेछ । यसका लागि शून्य खुद उत्सर्जनको लक्ष्यबाट पछि हट्न नहुने तथा जीवाश्म इन्धनको प्रयोग घटाउँदै वन विस्तारलगायत वायुमण्डलबाट कार्बन सोस्ने उपायलाई तीव्र बनाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।
बढ्दो तापक्रमले मानव स्वास्थ्य, खानेपानीको आपूर्ति, पूर्वाधार र अर्थतन्त्रमा समेत गम्भीर असर पार्ने चेतावनी दिइएको छ । यसबाट हुने केही क्षति पूर्ण रूपमा उल्ट्याउन नसकिने पनि जनाइएको छ । जलवायु संकटबाट बच्न तत्काल र ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने तथा वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाउने प्रभावकारी उपाय अपनाउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ । तापक्रम केही समय बढे पनि त्यसलाई उच्चतम बिन्दुमा पुगेर पुनः घट्ने अवस्थामा ल्याउनुपर्नेमा जोड दिइएको छ । प्रशान्त महासागर क्षेत्रका युवा जलवायु अभियन्ताका तर्फबाट बोल्दै विशाल प्रसादले १.५ डिग्री सेल्सियसको सीमा कायम गर्नु विकल्प नभई अन्तर्राष्ट्रिय कानुनअन्तर्गतको जिम्मेवारी भएको बताएका छन् । उनले जीवाश्म इन्धनको विस्तार तत्काल रोक्नुपर्ने बताएका छन् । अन्तरसरकारी जलवायु परिवर्तनसम्बन्धी समितिकी सहअध्यक्ष प्राध्यापक डेब्रा रोबर्ट्सले जलवायु संकट सामना गर्ने पुराना उपाय अब पर्याप्त नहुने बताएकी छन् । उनले जलवायु परिवर्तनको सामना गर्न नीति र विद्यमान व्यवस्थामै व्यापक परिवर्तन आवश्यक रहेको बताएकी छन् ।
१९- एप्पलका नयाँ प्रमुख कार्यकारी जोन टर्नसले वार्षिक करिब ५ करोड ८० लाख अमेरिकी डलर बराबरको पारिश्रमिक तथा सेयर सुविधा पाउने भएका छन् । उनले मंगलबारदेखि लामो समयदेखि प्रमुख कार्यकारी रहेका टिम कुकको स्थान लिएका हुन् । अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा बुझाइएको विवरणअनुसार टर्नसले वार्षिक ३० लाख डलर तलब पाउनेछन् । आगामी आर्थिक वर्षका लागि उनलाई करिब ५ करोड ५० लाख डलर बराबरको सेयर सुविधा दिने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षको प्रमुख कार्यकारीका रूपमा काम गरेको अवधिका लागि उनले थप २५ लाख डलर बराबरको प्रतिबन्धित सेयर एकाइ पाउनेछन् । टर्नसलाई दिइने वार्षिक सेयर सुविधाको ७५ प्रतिशत कम्पनीको सेयरधनी प्रतिफलसँग जोडिएको कार्यसम्पादनमा आधारित हुनेछ भने बाँकी २५ प्रतिशत चार वर्षमा निश्चित समयअनुसार प्राप्त हुने व्यवस्था गरिएको छ ।
यसैबीच टिम कुक सेप्टेम्बर २६ देखि कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् । उनले वार्षिक २० लाख डलर तलब र आगामी आर्थिक वर्षका लागि करिब ४ करोड ५० लाख डलर बराबरको सेयर सुविधा पाउनेछन् । नयाँ भूमिकामा उनको कुल वार्षिक पारिश्रमिक करिब ४ करोड ७० लाख डलर हुनेछ । गत वर्ष प्रमुख कार्यकारीका रूपमा कुकले करिब ७ करोड ४३ लाख डलर प्राप्त गरेका थिए । टर्नस सन् २००१ मा एप्पलमा आबद्ध भएका थिए । उनले उत्पादन डिजाइन र हार्डवेयर इन्जिनियरिङका विभिन्न जिम्मेवारी सम्हाल्दै सन् २०१३ मा हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष बनेका थिए । एप्पलले सेप्टेम्बर ९ मा आयोजना गर्ने विशेष कार्यक्रममा टर्नसले पहिलोपटक व्यापक रूपमा कम्पनीको नेतृत्वका रूपमा आफ्नो परिचय दिने भएका छन् ।
२०- रुस-युक्रेन युद्धमा ब्ल्याक सी अहिले युद्धको ठूलो मोर्चाका रूपमा देखिन थालेको छ । पछिल्लो करिब डेढ महिनामा दुवै पक्षले ३०० भन्दा बढी पानीजहाजलाई निशाना बनाएको बताइएको छ । निशानामा अनाज बोकेका पानीजहाज, तेल ट्यांकर तथा अन्य मालवाहक पानीजहाज परेका छन् । लगातारको आक्रमणका कारण ब्ल्याक सीको समुद्री व्यापार प्रभावित भएको छ । पानीजहाज सञ्चालकहरू यो मार्ग प्रयोग गर्नबाट जोगिन थालेका छन् भने माल ढुवानीको लागतसमेत बढिरहेको छ । यसको असर विश्वव्यापी खाद्य आपूर्तिमा पर्न सक्ने जोखिम बढेको छ । विशेषगरी गहुँ र मकैको मूल्य बढ्न सक्ने चिन्ता देखिएको छ । रुस र युक्रेनले संयुक्त रूपमा विश्वको करिब ३० प्रतिशत गहुँ निर्यात गर्ने भएकाले ब्ल्याक सी हुँदै हुने व्यापारमा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजार प्रभावित हुन सक्ने देखिएको छ ।
अगस्टमा रुसको कुल अनाज निर्यात गत वर्षको ५९ लाख टनबाट घटेर १७ लाख टनमा झरेको छ । यो करिब ७१ प्रतिशतको गिरावट हो । रुसको गहुँ निर्यात पनि ५० लाख टनबाट घटेर १३ लाख टनमा सीमित भएको छ । रुसी गहुँ खरिद गर्ने देशको संख्या ४३ बाट घटेर १६ मा पुगेको छ । त्यस्तै, रुसबाट अनाज पठाउने बन्दरगाहको संख्या ४७ बाट घटेर १० मा सीमित भएको छ । रुसको सबैभन्दा ठूलो नोभोरोसिस्क बन्दरगाहबाट हुने अनाज ढुवानी २४ लाख ९० हजार टनबाट घटेर १० लाख ४० हजार टनमा झरेको छ । बन्दरगाह र पानीजहाजमाथिको आक्रमण बढेपछि अनाजको समुद्री व्यापारमा गम्भीर असर परेको छ । रुस र युक्रेनका भण्डारमा अनाज रहे पनि खरिद गर्ने देशसम्म पुर्याउन कठिनाइ भइरहेको छ । यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा समेत देखिन थालेको छ । पछिल्लो एक वर्षमा गहुँको मूल्य करिब ३० प्रतिशतले बढिसकेको बताइएको छ ।
ब्ल्याक सीको समुद्री मार्ग प्रभावित भएपछि युक्रेनले सडक र रेलमार्गमार्फत अन्य देशमा अनाज पठाउने प्रयास गरिरहेको छ । तर यी मार्गको क्षमता ब्ल्याक सीका बन्दरगाहको तुलनामा निकै कम छ । डेन्युब नदीमार्फत पनि सीमित मात्रामा अनाज पठाइँदै आएको छ । तर नदीको जलस्तर र ढुवानी क्षमताका कारण यसले समुद्री मार्गबाट हुने निर्यातको पूर्ण विकल्प दिन सकेको छैन । ब्ल्याक सीमा बढ्दो तनावले गहुँसँगै मकैको विश्वव्यापी आपूर्तिमा समेत असर पार्न सक्ने देखिएको छ । सन् २०२५–२६ मा युक्रेनले २ करोड ३० लाख टन मकै निर्यात गरेको थियो। यो विश्वको कुल मकै निर्यातको करिब १२ प्रतिशत हो । हालको अवस्था लामो समयसम्म कायम रहे अन्तर्राष्ट्रिय बजारमा मकैको आपूर्ति पनि प्रभावित हुन सक्ने जोखिम रहेको छ । ब्ल्याक सी विश्वका प्रमुख समुद्री व्यापार मार्गमध्ये एक हो । रुस र युक्रेनबाट गहुँ, मकै तथा सूर्यमुखी तेलको ठूलो हिस्सा यही मार्ग हुँदै विश्वका विभिन्न देशमा पुग्ने गरेको छ ।
रुस र युक्रेनले संयुक्त रूपमा विश्वको करिब ३० प्रतिशत गहुँ निर्यात गर्ने भएकाले ब्ल्याक सीमा हुने सैन्य तनावको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय खाद्य बजारमा पर्न सक्छ । सन् २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएपछि ब्ल्याक सीबाट हुने अनाज निर्यातमा अवरोध आएको थियो। त्यसबेला विश्वभर खाद्य पदार्थको मूल्यमा तीव्र वृद्धि भएको थियो । पछि संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा ब्ल्याक सी अनाज सम्झौता लागू गरिएको थियो। त्यसबाट लाखौँ टन अनाज अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहज भएको थियो । तर अहिले ब्ल्याक सीमा पानीजहाज र बन्दरगाहमाथि आक्रमण बढ्दै गएपछि विश्वव्यापी खाद्य आपूर्तिलाई लिएर पुनः चिन्ता बढेको छ । समुद्री मार्ग लामो समयसम्म प्रभावित भए गहुँ, मकै र खाद्य तेलको मूल्यमा थप वृद्धि हुन सक्ने देखिएको छ । रुस र युक्रेनबाट हुने अनाज निर्यातमा बढी निर्भर देशहरूमा यसको प्रभाव अझ गम्भीर पर्न सक्ने जोखिम रहेको छ ।