काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको ल्याएका छन् । बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन् । बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब रहने र भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन् । त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ ।
२- प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि लगातार तीन दिन छलफल हुने भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १८, १९ र २० गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफलको समय तोकेका हुन् । त्यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए । सभामुख अर्यालका अनुसार उक्त अवधिमा सांसदहरूले बजेटबारे धारणा राख्नेछन् भने अर्थमन्त्री डा. वाग्लेले बजेट बारेमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
३- इरानले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा इरानले काजकिस्तानलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो । इरानले काजकिस्तानलाई २५–१८, १९–२५, २५–१५ र २५–२१ ले पराजित गरेको हो । सन् २०२५ मा उज्वेकिस्तानमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली उज्वेकिस्तानलाई हराउँदै इरानले नै उपाधि जितेको थियो । यसअघि आजै भएको तेस्रो स्थानको खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गर्दै काश्य पदक जितेको थियो । नेपाल घरेलु कोर्टमा सम्पन्न काभा च्याम्पियनसिपको चौथो स्थानमा सीमित हुदै पदक विहिन बनेको छ । नेपालले भरतसँग २२–२५, २३–२५, २५–१५ र २२–२५ को सेटमा हार व्यहोरेको थियो ।
४- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष राजस्व बाँडफाँट, रोयल्टी र वित्तीय हस्तान्तरणमार्फत ६ खर्ब रुपैयाँ बराबर प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था गरेको जानकारी दिएका छन् । बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहमा ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान जाने घोषणा गरेका हुन् । त्यस्तै प्रदेश र स्थानीय तहमा ४ अर्ब ६० करोड र ८ अर्ब ९३ करोड समपूरक अनुदान जाने छ भने प्रदेश र स्थानीय तहमा ३ अर्ब ८२ करोड र ९ अर्ब ४० करोड विशेष अनुदान छुट्याइएको छ । त्यसैगरी संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा ३९ अर्ब ७२ करोड र २ खर्ब ६ अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने छ भने राजस्व बाँडफाँटबाट कुल १ खर्ब ७५ अर्ब रकम जाने अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन् ।

५- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब बढाएका छन् । बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले कर्मचारीको शुरु स्केलमा १० प्रतिशत तलब बृद्धि गरेको घोषणा गरेका छन् भने कार्यसम्पादनमा आधारित नयाँ पारिश्रमिकको शुरु गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको घोषणा गरेका छन् । अर्थमन्त्रीले सरदार २१ प्रतिशत वृद्धि हुने र न्युनतम तलब ४० हजारदेखि एक लाख कायम हुने बताएका छन् ।

६- नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् । काँग्रेसले आयोजना गरेको ‘विस्थापनको व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ कार्यक्रममा बोल्दै सरकारले गरिबी हटाउनु पर्नेमा गरिब हटाउन लागेको आरोप लगाउदै गरिब हटाएर समस्याको समाधान नहुने बताएका हुन् । उनले भने- ‘गरिब र गरिबी फरक कुरा हो । सरकार कहाँ निर झुक्किएको छ भने मलाई लाग्छ भने उसको हस्तक्षेप गरिबीका विरुद्ध हुनुपर्थ्यो, गरिबलाई नै फाल्दिएर गरिवी हट्दैन ।’

सभापति थापाले कसैको पनि घरसँग भावना जोडिएको हुने उल्लेख गर्दै एक्कासी घर भत्काएर सरकारले गलत काम गरेको बताए । संबिधानमा आत्मसम्मान पुर्वक बाच्न पाउने हक सुनिश्चित गरिएको उल्लेख गर्दै भूमिहीनलाई जग्गा दिनुपर्ने र संबिधानले नै सुनिश्चित गरेको बताए । सरकार कानुन भन्दा माथि नहुने बताउदै भूमिहीन सुकुम्बासीको सन्दर्भमा कानुन पालना गर्न चुकेको बताए । उनले कतिपय स्थानीय तहमा पनि कानुन पालना गर्न चुकेको बताउदै कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारहरुलाई कानुन विपरित काम गरेमा कारवाही गर्ने चेतावनी दिए । उनले देशभर होल्डिङ सेन्टरमा काँग्रेसले मनोसामाजिक परामर्शका लागि प्रतिनिधिहरु खटाउन निर्देशन दिने बताए ।
७- मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सुशासन र डिजिटल सेवामा केन्द्रित महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले ‘मेड इन मधेश, समृद्ध प्रदेश’ नारासहित कृषि उत्पादन र आत्मनिर्भरतालाई मुख्य प्राथमिकतामा राखेको छ । धान, गहुँ, मकै, कोदो, तेलहन र दलहन बालीको बीउमा आत्मनिर्भर बनाउन ‘बीउ प्रवर्द्धन परियोजना’ सञ्चालन गरिने भएको छ । मखान खेतीको व्यावसायिक विस्तार, माछा तथा मासु उत्पादन वृद्धि, सौर्य सिँचाइ कार्यक्रम र कृषि बीमामा थप अनुदानको व्यवस्था पनि गरिने उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा कृषि सङ्कलन केन्द्र, चिस्यान केन्द्र र दूध चिस्यान केन्द्र स्थापना गर्ने नीति लिएको छ ।
कृषि उपज बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स र चिस्यानयुक्त ढुवानी साधन सञ्चालनमा सहकारी तथा निजी क्षेत्रलाई अनुदान दिइने भएको छ । त्यस्तै रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै कम्तीमा एक हजार जनालाई रोजगारी दिने उद्योगीलाई ‘रोजगारदाता सम्मान’ प्रदान गरिने भएको छ । युवालाई स्वदेशमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने वातावरण बनाउन विल्यान्सिङ, आउटसोर्सिङ र डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । एक लाख नयाँ डिजिटल उद्यमी तयार गर्ने लक्ष्यसमेत सरकारले राखेको छ । स्वास्थ्यतर्फ मातृ तथा शिशु स्वास्थ्य, पूर्ण खोप, नसर्ने रोग नियन्त्रण र मानसिक स्वास्थ्य सेवामा विशेष जोड दिइएको छ ।
प्रदेश अस्पतालहरूमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गका लागि विशेष उपचार कक्ष स्थापना गरिनेछ भने मानसिक स्वास्थ्य उपचार कक्ष र मनोसामाजिक परामर्श सेवा विस्तार गरिने भएको छ । शिक्षातर्फ सामुदायिक विद्यालयमा डिजिटल बोर्ड जडान, शिक्षकलाई ‘स्टिम’ तालिम, विद्यालय नर्स कार्यक्रम विस्तार तथा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा आवासीय नमुना विद्यालय सञ्चालन गरिने नीति ल्याइएको छ । त्यसैगरी महिला तथा सामाजिक सशक्तीकरणका लागि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गरी महिला स्वरोजगारसँग जोडिने भएको छ । बालविवाह, दाइजो प्रथा र लैंगिक हिंसा अन्त्यका लागि विशेष अभियान सञ्चालन गरिने सरकारको घोषणा छ ।
८- नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले सुनिश्चित गरेको गणतन्त्र कुनै एक व्यक्ति वा दलको नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको उल्लेख गरेका छन् ।
उनले संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताउदै संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउन तथा राज्य सञ्चालनमा रहेका परम्परागत र स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई थप सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको साँचो सम्मान हुने उनले उल्लेख गरेका छन् । उनले गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र नै भएको बताउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका छन् । प्रचण्डले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको बताएका छन् । सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको उनको भनाइ छ । उनले राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको भन्दै परिवर्तनका उपलब्धि कमजोर बनाउने प्रयासप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् ।
९- न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इरान युद्धको विरोध गर्दै अब यो संघर्ष अन्त्य हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले तीन महिनाअघि कसैको स्वीकृतिबिना युद्ध सुरु गरिएको र त्यसको सबैभन्दा ठूलो मूल्य आम नागरिकले चुकाइरहेको बताएका हुन् । ममदानीका अनुसार युद्धका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । साथै १३ अमेरिकी सैनिकको पनि मृत्यु भएको भन्दै उनीहरू अब कहिल्यै आफ्नो परिवारकहाँ फर्किन नसक्ने उल्लेख गरेका छन् ।
उनले युद्धको असर केवल युद्धग्रस्त क्षेत्रमा सीमित नरहेको भन्दै अमेरिकाका सर्वसाधारण नागरिकसमेत प्रभावित भइरहेको बताएका छन् । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढेकाले मध्यम र श्रमिक वर्गका परिवारको आर्थिक अवस्था थप दबाबमा परेको उनको भनाइ छ । ममदानीले अमेरिकी संसदको स्वीकृतिबिना युद्ध सुरु गरिएको आरोपसमेत लगाएका छन् । विदेशमा ज्यान गुमाउने प्रत्येक व्यक्ति र अमेरिकाभित्र आम परिवारमाथि थपिएको आर्थिक भार एउटै गैरजिम्मेवार निर्णयको परिणाम भएको उनले बताएका छन् ।
१०- कम्बोडियामा भिसा अवधि सकिएपछि पनि बसोबास गरिरहेका नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा स्वदेश फर्किन बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासका अनुसार विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेका नेपालीहरूको विवरण सङ्कलन कार्य १ मे २०२६ देखि सुरु गरिएको थियो । उक्त विवरणका आधारमा राहदानी हराएका सबै नेपालीका लागि एकतर्फी यात्रा कागजात तयार गरी सम्बन्धित निकायमार्फत कम्बोडिया पठाइसकिएको पनि जनाइएको छ ।दूतावासको अनुरोधपछि कम्बोडिया सरकारले हालसम्म आठ चरणमा गरी ६०२ जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरिसकेको छ ।
यसैबीच, दूतावासले भिसा अवधि सकिएपछि पनि कम्बोडियामा रहेका सबै नेपालीलाई एक हप्ताभित्र नेपाल फर्किन कडा अनुरोध गरेको छ । तोकिएको समयभित्र फर्किन नसके नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ गरी जरिवाना तथा कैद सजायसमेत हुन सक्ने कम्बोडिया सरकारले जनाएको छ । दूतावासले सम्बन्धित सबैलाई यो सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म छिटो स्वदेश फर्किन अनुरोध गरेको छ । साथै, जरिवाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरेपछि त्यसबारे अग्रिम जानकारी सम्बन्धित कम्बोडियाको अध्यागमन विभागलाई दिनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै, नेपाल फर्किने क्रममा कम्बोडियाबाट नेपालका लागि सिधा उडान उपलब्ध नभएकाले ट्रान्जिटमार्फत हुने यात्रा हो वा होइन भन्ने सुनिश्चित गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले सुझाव दिएको छ ।
११- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको २ लाख ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८६५ मा कारोबार भएको थियो ।
१२- अमेरिका र इरानबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा वार्ताको सम्भावना बढेसँगै शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य करिब ३५ सेन्टले घटेर प्रतिव्यारेल ९३ दशमलव ३६ डलरमा पुगेको छ । त्यस्तै डब्लुटिआई कच्चा तेलको मूल्य ६३ सेन्टले घट्दै प्रतिव्यारेल ८८ दशमलव २७ डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, मूल्यमा ठूलो गिरावट भने आएको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको तर अझै अन्तिम सहमति नभएको बताएका छन् ।
अमेरिका र इरानबीच पछिल्ला चार महिनादेखि तनाव जारी रहे पनि अहिले दुवै देशबीच सम्झौताको सम्भावना बढ्दै गएको देखिएको छ । अमेरिकी पत्रकार एलन फिशरका अनुसार ह्वाइट हाउसमा पनि चाँडै कुनै सहमति हुन सक्ने अपेक्षा बढेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्थमन्त्री स्कट बेसन्ट तथा उपराष्ट्रपति जेडी भान्सले वार्ताबारे सकारात्मक संकेत दिएका थिए । भान्सले इरान इमान्दारीपूर्वक वार्तामा सहभागी भइरहेको दाबी गर्दै अहिले मुख्य विवाद समृद्ध युरेनियम र सम्झौताका शब्द तथा सर्तमा केन्द्रित रहेको बताएका छन् । उनले अमेरिकी सेनाले कडा दबाब सिर्जना गरेपछि मात्रै वार्ता अगाडि बढ्न सकेको पनि उल्लेख गरेका छन् । यसैबीच, सम्भावित सम्झौताबारे छलफल भइरहेका बेला आज वासिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पाकिस्तानका विदेशमन्त्री इसाक डारबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ । पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबीच शान्ति वार्तामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । हालैका दिनमा पाकिस्तानका उच्च अधिकारीहरूले इरान भ्रमणसमेत गरेका छन् ।
१३- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताएका छन् । काठमाडौँको टुँडिखेलमा आयोजित १९औं गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताउदै यस व्यवस्थाले जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएको बताएका हुन् । उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको भन्दै संबिधानले निदिष्ट गरेको व्यवस्था अनुसार नै यसको अभ्यास भइरहेको बताए । गणतन्त्रले एकताबद्ध भएर अगाडी जाने अवसर दिएको भन्दै सबै किसिमका राजनीतिक अधिकार समेत दिएको राष्ट्रपति पौडेलले बताए ।
राजनीतिक उपलब्धिहरुले मात्र परिवर्तनलाई जनतासँग जोड्न पर्याप्त नहुने भन्दै उनले शासकीय चरित्रले परिवर्तनलाई जनतासँग जोड्नुपर्ने बताए । राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक उपलब्धिको जगमा आर्थिक उन्नतिको जग बसाल्नु पर्ने भन्दै शासकीय संरचना र राज्यका अंगहरुलाई गतिशील बनाएर सुशासन दिनै पर्ने बताए । राष्ट्रपति पौडेलले अहिले बलियो जनादेशको सरकार बनेको उल्लेख गर्दै शासकीय सुधारका सय बुँदे कार्यसूची ल्याएर काम गरिरहेको बताए । गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई समृद्ध बनाउन सबैले आफ्नो आचरणलाई सुधार गरेर काम गर्नेमा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई यसअघि प्रधानमन्त्रीले सम्वोधन गर्ने प्रचलन रहेपनि यस पटक पहिलो पटक राष्ट्रपतिले सम्बोधन गरेका हुन् ।
१४- अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनलाई ठूलो झट्का लागेको छ । कम्पनीको विशाल ‘न्यु ग्लेन’ रकेट परीक्षणका क्रममा प्रक्षेपणस्थलमै विस्फोट भएको हो । यो घटना फ्लोरिडास्थित केप क्यानाभेरलको प्रक्षेपण परिसर–३६ मा भएको हो । रकेटको इन्जिन परीक्षण भइरहेका बेला अचानक ठूलो विस्फोट भएको र आकाशमा आगोको विशाल गोलो देखिएको थियो । विस्फोट यति शक्तिशाली थियो कि आसपासका क्षेत्रमा रहेका घरहरू समेत हल्लिएको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा आकाश सुन्तलाजस्तै आगोले चम्किएको देखिएको छ । ब्लु ओरिजिनले सामाजिक सञ्जालमार्फत परीक्षणका क्रममा प्राविधिक समस्या उत्पन्न भएको जनाएको छ । कम्पनीका अनुसार सबै कर्मचारी सुरक्षित रहेका छन् र घटनामा कोही पनि घाइते भएका छैनन् ।
कम्पनीले ‘हटफायर टेस्ट’ का क्रममा असामान्य अवस्था सिर्जना भएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भइरहेको र थप जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ । स्थानीय आपत्कालीन निकायले विस्फोटपछि विषालु धुवाँ वा अन्य खतराको सम्भावना नरहेको स्पष्ट पारेका छन् । ‘न्यु ग्लेन’ रकेट यसअघि पनि प्राविधिक समस्याका कारण चर्चामा आएको थियो । गत अप्रिलमा इन्जिनमा समस्या आएपछि यसको उडान रोकिएको थियो । त्यतिबेला रकेटले एउटा उपग्रहलाई गलत कक्षामा छोडेको बताइएको थियो । यो ‘न्यु ग्लेन’ रकेटको तेस्रो उडान परीक्षण मानिएको छ । ब्लु ओरिजिनले यही रकेटमार्फत अमेरिकी अन्तरिक्ष निकाय नासाको चन्द्र अभियानका लागि ल्याण्डर प्रक्षेपण गर्ने योजना बनाएको छ । जेफ बेजोसको ब्लु ओरिजिन लामो समयदेखि एलन मस्कको स्पेसएक्सलाई चुनौती दिने प्रयासमा रहेको छ । ‘न्यु ग्लेन’ लाई कम्पनीको भविष्यसँग जोडिएको महत्वाकांक्षी परियोजनामध्ये एक मानिन्छ । यो रकेटको नाम अमेरिकाका पहिलो अन्तरिक्ष यात्री जोन ग्लेनको नामबाट राखिएको हो । उनले पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकीका रूपमा इतिहास बनाएका थिए ।
१५- संयुक्त राष्ट्रसंघको नयाँ जलवायु प्रतिवेदनले आगामी पाँच वर्षभित्र पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ । प्रतिवेदनअनुसार यही अवधिमा पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान पटक पटक तोडिन सक्ने सम्भावना रहेको छ । विश्व मौसम विज्ञान संगठनले सन् २०३० सम्म आर्कटिक क्षेत्रको तापक्रम करिब १ दशमलव ६६ डिग्री सेल्सियसले बढ्न सक्ने अनुमान पनि गरेको छ । प्रतिवेदनमा अमेजन क्षेत्रमा गम्भीर खडेरी र डढेलोको जोखिम बढ्ने उल्लेख गरिएको छ । वैज्ञानिकहरूले कोइला, तेल र ग्यासको बढ्दो प्रयोगका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेको र यसले बाढी, खडेरी तथा अत्यधिक गर्मीजस्ता मौसमी विपद् झन् बढाउने बताएका छन् । संयुक्त राष्ट्रसंघको जलवायु निकाय र बेलायतको मौसम विभागले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनमा सन् २०२६ देखि २०३० बीच विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको अवस्थाभन्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना ७५ प्रतिशत रहेको उल्लेख छ ।
प्रतिवेदनअनुसार तापक्रममा सामान्य वृद्धि भए पनि यसले मानव मृत्यु, प्राकृतिक जोखिम र जीवजन्तुका प्रजातिमा गम्भीर असर पार्नेछ । प्रवाल भित्ते र हिमनदीजस्ता प्राकृतिक प्रणालीले थप तापीय दबाब सहन नसक्ने चेतावनी दिइएको छ । विश्व मौसम विज्ञान संगठनका अनुसार आगामी पाँच वर्षमध्ये कम्तीमा एक वर्षमा १ दशमलव ५ डिग्री सेल्सियसको सीमा पार हुने सम्भावना ९१ प्रतिशत रहेको छ । यस्तै सन् २०२४ मा बनेको पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान फेरि तोडिने सम्भावना ८६ प्रतिशत रहेको जनाइएको छ । अनुमानअनुसार सन् २०३० सम्म प्रत्येक वर्षको तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको अवस्थाभन्दा १ दशमलव ३ देखि १ दशमलव ९ डिग्री सेल्सियससम्म बढी रहनेछ । प्रतिवेदनमा ‘एल निनो’ को प्रभाव फेरि देखिन सक्ने सम्भावना पनि औँल्याइएको छ ।
छोटो अवधिको मौसम पूर्वानुमानमा ‘एल निनो’ सक्रिय हुन सक्ने संकेत देखिएको र यसको असर सन् २०२८ सम्म कायम रहन सक्ने विश्व मौसम विज्ञान संगठनले जनाएको छ । यसका कारण सन् २०२७ मा सन् २०२४ को तापक्रम रेकर्ड तोडिन सक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले पछिल्ला वर्षहरूमा केही प्रगति भए पनि तापक्रम वृद्धि नियन्त्रण गर्ने प्रयास पर्याप्त नभएको बताएका छन् । प्रतिवेदनकी सहलेखिका मेलिसा सिब्रुकले १ दशमलव ५ डिग्री सेल्सियस अन्तिम सीमा नभएको उल्लेख गर्दै प्रत्येक ० दशमलव १ डिग्री तापक्रम वृद्धि हुँदै जाँदा यसको असर झन् गम्भीर बन्ने बताइन् । लन्डनकी जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले यदि तापक्रम पूरा वर्ष १ दशमलव ५ डिग्रीभन्दा माथि रह्यो भने संसारले अत्यन्त खतरनाक मौसमीय अवस्था सामना गर्नुपर्ने चेतावनी दिएकी छन् ।
१६- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हाँसिल गर्न सबै तहका सरकार निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्र्रपति पौडेलले गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आ-आफ्नो क्षेत्रबाट योगदान पुऱ्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्वद्ध सबैमा आह्वान समेत गरेका छन् ।
उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएक आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरेका छन् । उनले भनेका छन्- ‘नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।’ राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन् । उनले यस ऐतिहासिक दिवसले सबै नेपालीहरूबीच आपसी विश्वास सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।
१७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै त्यसबाट प्रणालीप्रति असन्तुष्टि उत्पन्न हुन सक्ने र त्यस्ता असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने जिकिर गरेका हुन् ।
उनले भनेका छन्- ‘चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ । त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्। लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो ।’ ओलीले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको बताएका छन् । उनले आजभन्दा ठीक १८ वर्षअघि नेपाली जनताले आफैं निर्वाचित गरेको संविधानसभाबाट गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।
उनले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजहरूले जीवन बलिदान गरेको र धेरैले जेल, यातना तथा निर्वासन भोग्नुपरेको स्मरण गरेका छन् । ओलीले जनताको ठूलो संघर्षपछि हुकुमबाट चल्ने शासन प्रणाली अन्त्य भएर कानुनबाट चल्ने व्यवस्था स्थापना भएको बताएका छन् । व्यक्तिको इच्छाअनुसार चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनाबाट सञ्चालन हुने पद्धति सुरु भएको उनको भनाइ छ । अध्यक्ष ओलीले गणतान्त्रिक अभ्यास छोटो समयमै भए पनि सामाजिक र भौतिक विकासमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन् ।
उनका अनुसार शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको उल्लेख गर्दै गाउँगाउँसम्म स्थानीय सरकार पुगेको, राज्यका हरेक तहमा महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व बढेको, अभिव्यक्ति स्वतन्त्रता विस्तार भएको, डिजिटल सेवामा पहुँच बढेको तथा सडक र सञ्चार विस्तार भएका विषयलाई गणतन्त्रका उपलब्धिका रूपमा उल्लेख गरेका छन् । ओलीले जनताको निराशाबाट फाइदा उठाएर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने र भावनालाई भड्काएर संरचना कमजोर बनाउने प्रवृत्तिप्रति पनि चेतावनी दिएका छन् । उनले संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा नै अहिले गणतन्त्रको रक्षा भएको बताएका छन् । लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्य पनि असुरक्षित हुने उनको भनाइ छ । गणतन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैलाई आह्वान गरेका छन् ।
१८- लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ । प्रशिक्षक लियोनल स्कालोनीले मेसीको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् । ३८ वर्षीय मेसीले कतारमा भएको अघिल्लो विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो पटक विश्वविजेता बनाएका थिए । उनले हालसम्म विश्वकपमा २६ खेल खेलेका छन्, जुन कुनै पनि खेलाडीले खेलेको सबैभन्दा धेरै खेलको कीर्तिमान हो । यसपटक मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छैटौँ विश्वकप खेल्ने तयारीमा छन् । यी दुई खेलाडी पुरुष फुटबलमा छ वटा विश्वकप खेल्ने दुर्लभ सूचीमा रहनेछन् ।
अर्जेन्टिनाको टोलीमा एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेज पनि समावेश छन् । उनले सन् २०२२ को विश्वकपमा उत्कृष्ट गोलरक्षकको पुरस्कार जितेका थिए । यस्तै म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज र टोटेनहमका क्रिस्टियन रोमेरो पनि टोलीमा रहेका छन् । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र चेल्सीका एन्जो फर्नान्डेजसहित प्रिमियर लिग खेल्ने पाँच खेलाडी अर्जेन्टिनाको टोलीमा रहेका छन् । आगामी विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा परेको छ । उसले पहिलो खेल क्यान्सस सिटीमा अल्जेरियाविरुद्ध खेल्नेछ ।
त्यसपछि डलासमा अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ । अर्जेन्टिनाको विश्वकप टोलीः गोलरक्षकः हुआन मुस्सो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज । डिफेन्डरः लियोनार्दो बालेर्दी, निकोलस टालियाफिको, गोन्जालो मोन्टिएल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना । मिडफिल्डरः लिएन्ड्रो परेडेस, रोड्रिगो डे पाउल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पालासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज । फरवार्डः जुलियन अल्भारेज, लियोनेल मेसी, निकोलस गोन्जालेज, थियागो आल्माडा, जुलियानो सिमियोने, निको पाज, होसे मानुएल लोपेज, लाउतारो मार्टिनेज ।
१९- काठमाडौँ । सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ । परराष्ट्र मन्त्रालयले न्यूनतम योग्यता तथा मापदण्ड तोकेर बिहीबार आवेदन खुलाएको हो । राजदूत नियुक्तिका लागि न्यूनतम ३५ वर्ष उमेर र स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड राखिएको छ। पूर्वप्रशासनको हकमा अवकाश भएको न्यूनतम १० वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । यसरी आवेदकमध्येलाई सर्टलिस्ट गरेर नियुक्त गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले चार बर्षको सेवा अवधि तोकिएको टर्म्स अफ रेफरेन्स–टीओआरमा राजदूत पदका लागि आवेदन खुला गरेको भएपनि सफल उम्मेदवारलाई कुन देशमा पठाइने भन्ने उल्लेख छैन ।
हाल १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन् भने थप सात नियोग खाली हुने क्रममा रहेका छन् । मन्त्रालयले राजदुतका लागि अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्ने साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार वा बहुपक्षीय वार्तासम्बन्धी विशेष तालिम वा प्रमाणपत्र, नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित शैक्षिक प्रकाशन, अनुसन्धान वा विद्वतापूर्ण योगदानलाई अतिरिक्त योग्यता मानिने उल्लेख गरेको छ । त्यस्तै, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरका सरकारी, कूटनीतिक, निजी क्षेत्र, गैरसरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी भूमिकाको अनुभव भएको, द्विपक्षीय वा बहुपक्षीय वार्ता, सन्धि–सम्झौता वा अन्तर्राष्ट्रिय कानुनी संरचनामा संलग्नताको प्रमाणित अनुभव, सम्बन्धित देश वा क्षेत्रमा पहिले काम गरेको अनुभवलाई प्राथमिकता दिइने टीओआरमा उल्लेख छ । साथै व्यापार प्रवर्द्धन, लगानी सहजीकरण, आर्थिक कूटनीति तथा संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तीय संस्था वा सार्क, बिमस्टेकजस्ता क्षेत्रीय निकायबारे अनुभवलाई पनि वाञ्छनीय मानिने उल्लेख छ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानलाई आक्रमणको चेतावनी दिएपछि उनले आक्रमणको धम्की दिएको ओमान १५औँ देश बनेको छ । ट्रम्पले ओमानले इरानसँग मिलेर होर्मुज जलडमरूमध्य नियन्त्रण गर्ने प्रयास गरे अमेरिका त्यसलाई ध्वस्त पार्ने धम्की दिएका हुन् । ट्रम्पको कार्यकालमा अमेरिकाले हालसम्म सात देशमाथि सैन्य कारबाही गरिसकेको बताइएको छ । यसमध्ये भेनेजुएलामा अमेरिकी टोली प्रवेश गरेर राष्ट्रपतिलाई नियन्त्रणमा लिएको दाबी समेत गरिएको छ । यसका साथै ट्रम्पले क्यानडा, ग्रीनल्यान्ड, भेनेजुएला र क्युबालाई अमेरिकामा गाभ्ने चेतावनी पनि दिइसकेका छन् ।
उनले पनामा नहर कब्जा गर्ने धम्कीसमेत दिएका थिए । सन् २०२४ को राष्ट्रपति चुनावताका ट्रम्पले आफूलाई शान्तिप्रिय नेताका रूपमा प्रस्तुत गरेका थिए । चुनावी सभाहरूमा उनले आफ्ना प्रतिद्वन्द्वीहरूलाई युद्ध भड्काउने नेता भन्दै आफू राष्ट्रपति बने विश्वमा शान्ति कायम हुने दाबी गरेका थिए । उनले आफू राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध नै सुरु नहुने दाबी पटक–पटक गरेका थिए । ट्रम्पले आफूलाई शत्रु राष्ट्रसँग संवाद गरेर ठूलो युद्धबिनै सम्झौता गराउन सक्ने नेताका रूपमा चित्रित गरेका थिए । तर राष्ट्रपति बनेपछि परिस्थिति उल्टो देखिएको विश्लेषण गरिएको छ । अमेरिकाले ट्रम्पको कार्यकालमा इरान, इराक, नाइजेरिया, सोमालिया, सिरिया, भेनेजुएला र यमनमा सैन्य कारबाही गरेको उल्लेख गरिएको छ । इरानमाथि अमेरिकाले एक वर्षमै दुई पटक आक्रमण गरेको बताइएको छ ।
गत वर्ष जुन २४ मा आणविक कार्यक्रमसँग सम्बन्धित तीन स्थानमा हमला गरिएको थियो भने यस वर्ष फेब्रुअरी २८ मा इजरायलसँग मिलेर गरिएको आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह खामेनेईसहित उच्च अधिकारी मारिएको दाबी गरिएको छ । इराक र सिरियामा इरान समर्थित समूह तथा आतंकवादी संगठनविरुद्ध कारबाही गरिएको जनाइएको छ । सोमालियामा अल–शबाब र नाइजेरियामा बोको हराम तथा इस्लामिक स्टेटविरुद्ध ड्रोन तथा हवाई हमला गरिएको उल्लेख छ । यमनमा हुथी विद्रोहीका अड्डामाथि मिसाइल तथा हवाई हमला गरिएको बताइएको छ भने भेनेजुएलामा राष्ट्रपति नियन्त्रणमा लिनुका साथै करिब ६० जहाजमाथि हमला भएको र त्यसमा १९० नाविक मारिएको दाबी गरिएको छ ।
विश्लेषकहरूले ट्रम्पको शैलीलाई अमेरिकी पूर्वराष्ट्रपति रिचर्ड निक्सनको ‘म्याडम्यान थ्योरी’ सँग तुलना गरेका छन् । यस सिद्धान्तअनुसार नेताले आफू जे पनि गर्न सक्छ भन्ने सन्देश दिएर विपक्षीलाई डर पैदा गराउने रणनीति अपनाउछ । यो रणनीति पहिलो पटक निक्सनले सन् १९६० र १९७० को दशकमा भियतनाम युद्धका क्रममा प्रयोग गरेका थिए । उनले सोभियत संघ र उत्तर भियतनामलाई आफू आणविक हमला गर्नेसम्मको निर्णय लिन सक्ने संकेत दिएका थिए ।