काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितका १०१ जनालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ । प्रस्तावित पुरस्कार सूचीमा मालदिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का पदक विजेता चार खेलाडी समावेश छन् । त्यसैगरी, भारतमा सम्पन्न प्रथम खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ तथा पुरुष टोलीका १८ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, चीनमा सम्पन्न छैटौँ एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका कांस्य पदक विजेता सात खेलाडी तथा मलेसियामा सम्पन्न एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेतासहित १७ खेलाडीलाई पनि मन्त्रालयले पुरस्कृत गर्नेछ ।
यस्तै, थाइल्यान्डमा सम्पन्न ५७औँ बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का कांस्य पदक विजेता एक खेलाडी, श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का स्वर्ण पदक विजेता एक खेलाडी, बहराइनमा सम्पन्न आइएसएफ जिम्नासियाड–२०२४ का स्वर्ण र कांस्य पदक विजेता नौ खेलाडी तथा ओमानमा सम्पन्न एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४मा स्वर्ण पदक जित्दै विश्वकपमा छनोट भएका २० खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ ।
२- कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा टमाटर फ्याँकेर प्रदर्शनमा रहेका किसानहरुसँग छलफल गरेकी छन् । बुधबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा रहेका किसानलाई मन्त्री चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा आमन्त्रण गरी उनीहरूका गुनासा र मागबारे विस्तृत छलफल गरेकी हुन् । मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमा विक्री वितरण गर्न आग्रह गर्दै सबैले उत्पादित सामग्री बेच्न कालीमाटी बजारमा आइरहन नपर्ने बताइन् । छलफलका क्रममा किसानका समस्यालाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवहारिक समाधानका लागि पहल गरिने विश्वास दिलाएको मन्त्रालयले जनाएको छ।
सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताइन् । किसानहरुले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, मल बीउको सहज उपलब्धता गराउन, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लागू गर्न सरकारसँग माग गर्दै टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।
३- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल नेकपा एमालेबीच दूरी बढेको छ । प्रदेश सरकारको विषयमा विवाद बढेपछि काँग्रेस-एमालेबीच दूरी बढेको हो । विवाद बढेपछि काँग्रेसले सातै प्रदेशबाट एमालेसँगको सहकार्य अन्त्य गर्ने भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा विवाद बढेसँगै सातै प्रदेशमा एमालेसँग काँग्रेसले सहकार्य नगर्ने भएको हो । कर्णालीमा एमालेका यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी काँग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् भने सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।
कांग्रेसले औपचारिक रूपमा एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय सार्वजनिक नगरेपनि प्रदेशमा जानकारी गराइसकेको बताइएको छ । कर्णाली र सुदूरपश्चिम बाहेक लुम्बिनी र कोशी सरकारबाट कांग्रेस बाहिरिने छ भने काँग्रेस नेतृत्वमा रहेको गण्डकी र बागमतीबाट एमालेका मन्त्रीलाई सरकारबाट हटाइने भएको छ । मधेश प्रदेश सरकारको नेतृत्व भने कांग्रेसकै रहेको छ । त्यस्तै काँग्रेसले एमालेसँग दूरी बनाएपछि प्रदेशहरुमा सम्भावित नयाँ गठबन्धनका लागि नेकपासँग छलफल अगाडी बढाएको बुझिएको छ । बाहिरबाट हेर्दा कर्णाली र सुदूरपश्चिमको विवादलाई कारण बनाइएको भएपनि गगन थापा नेतृत्वको काँग्रेसले रणनीतिक रुपमा एमालेसँग दूरी बनाएको बताइएको छ ।
४- शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले दुवै पदाधिकारीलाई शपथ गराएका हुन् । यसअघि शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
५- अमेरिकी केन्द्रीय कमान्डले इरानका बन्दरगाहमाथि पुनः नाकाबन्दी सुरु गरेको जनाएको छ । अमेरिकाले इरानका बन्दरगाहमा प्रतिबन्ध लागू गरिएको अमेरिकी पक्षले जनाएको हो । यसअघि पनि अमेरिकाले अप्रिलदेखि जुनसम्म करिब दुई महिनासम्म इरानका बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। उक्त अवधिमा मध्यपूर्वदेखि हिन्द महासागरसम्म अमेरिकी नौसेना र वायुसेनाले निगरानी तथा कारबाही सञ्चालन गरेको थियो । यसपटकको नाकाबन्दी होर्मुज जलडमरूमध्यभित्र र बाहिर रहेका सबै इरानी बन्दरगाहमा लागू हुने बताइएको छ । नाकाबन्दीअन्तर्गत सम्बन्धित देशका समुद्री व्यापारिक गतिविधिमा रोक लगाउन सकिन्छ ।
विपक्षी देशका जहाज रोक्ने, सामान नियन्त्रणमा लिने तथा आवश्यक परे समुद्रमा रहेका सम्पत्तिमाथि कारबाही गर्न सकिने व्यवस्था हुन्छ । यस्तो कदमको उद्देश्य कुनै देशलाई निर्यातबाट हुने आम्दानी घटाउनु र आवश्यक सामग्रीको आयातमा अवरोध पुर्याउनु हो । यसबाट देशको अर्थतन्त्र र सैन्य क्षमतामा असर पार्ने लक्ष्य राखिन्छ । समुद्री युद्धसम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार नाकाबन्दी लागू गर्नुअघि त्यसको घोषणा गर्नुपर्ने, जहाजहरूलाई जानकारी दिनुपर्ने र त्यसलाई कार्यान्वयन गर्न पर्याप्त नौसैनिक तथा हवाई शक्ति उपलब्ध हुनुपर्ने हुन्छ । विश्लेषकहरूका अनुसार इरानमाथिको यो कदमले उसको तेल निर्यात, अन्तर्राष्ट्रिय व्यापार र होर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री आवतजावतमा असर पार्न सक्छ ।
६- सर्वोच्च अदालतले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको । पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल इजलासले यस्तो आदेश गरेको हो । सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानबिन आयोगविरुद्ध अन्तरिम आदेश माग गरेका थिए ।
७- शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले सरकारले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का अव्यावहारिक प्रावधान तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरुले नियमावली जारी गर्नुअघि सरोकारवाला संस्था तथा व्यवसायीसँग पर्याप्त छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
नियमावलीका केही व्यवस्थाले विद्यार्थीको सूचनाको हक, निजी क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय शिक्षामा पहुँचको अधिकारमा असर पार्ने दाबी गर्दै वर्तमान स्वरूपमा कार्यान्वयन भए शैक्षिक परामर्श व्यवसाय नै संकटमा पर्ने चेतावनी दिएका छन् । उनीहरुले अनुमतिपत्रको अवधि एक वर्षको सट्टा पाँच वर्ष कायम गर्नुपर्ने, नवीकरण प्रक्रिया सहज र झन्झटरहित बनाउनुपर्ने तथा शैक्षिक मेला, प्रदर्शनी र सेमिनार सञ्चालनका लागि अनिवार्य स्वीकृति लिने व्यवस्था हटाउनुपर्ने, विदेश अध्ययनका लागि आयोजना गरिने शैक्षिक मेला तथा प्रदर्शनीमा स्वीकृति नदिने व्यवस्था पूर्ण रूपमा खारेज गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, नियमावली लागू हुनुअघि दशकौँदेखि सञ्चालनमा रहेका संस्थामा नयाँ मापदण्ड जबर्जस्ती लागू नगर्न, विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क लिन नपाउने व्यवस्था हटाउन तथा करसम्बन्धी दोहोरो विवरण पेश गर्नुपर्ने प्रावधान पनि खारेज गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी, नियमावली निर्माणका क्रममा व्यवसायी, विद्यार्थी, अभिभावक, विषयविज्ञ तथा कानुनविद्सँग पर्याप्त परामर्श नगरिनु गम्भीर नीतिगत कमजोरी भएको उनीहरूले दाबि छ । संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जस अनुसार असार ३२ गते सबै सदस्यले कार्यालयमा कालो पट्टी बाँधेर नियमित सेवा सञ्चालन गर्दै विरोध जनाउने, साउन १ गते बिहान ११ बजेदेखि ११: ३० बजेसम्म काठमाडौंका विभिन्न स्थानमा कार्यालय अगाडि प्लेकार्डसहित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तथा उपत्यकाभित्रका व्यवसायी पुतलीसडकमा भेला हुने जस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
त्यसपछि पनि सरकारले वार्ता र समस्या समाधानका लागि पहल नगरे सम्पूर्ण सदस्यले कार्यालयको चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाई अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिएका छन् । शैक्षिक परामर्श क्षेत्रका नेपाल शैक्षिक परामर्श उद्यमी महासंघ, नेपाल शैक्षिक परामर्श संघ, स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल, राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपाल जापानी भाषा विद्यालय संघ, शैक्षिक व्यावसायिक परामर्श संघ नेपाल र नेपाल कोरियन शैक्षिक परामर्श संघले नियमावली संशोधनको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
८- नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बुधवार बसेको संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिएका छन् ।
मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका छन् । मुख्यमन्त्री शाहले बुधवार बजेट बारेको विवादपछि एमालेबाट मन्त्री रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गरेका थिए ।
९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि लिएको ६ लाख घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । अख्तियारले खड्कालाई घुस लिइसकेको अवस्थामा दमक नगरपालिका-१ स्थित खाजा घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
१०- नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज बुधबार नेप्से १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेर रोकिएको छ । आज ३६२ कम्पनिका ८४ लाख ७३ हजार १६ कित्ता शेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर ८९/९० को शेयर ९.२० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ८.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.३२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंक डिभेन्चर ८३ को ४४ करोड १० लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर २०८८ को ३३ करोड २० लाख बराबरको कारोबार भएको छ ।
११- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाइरहेको भन्दै होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गरेका हुन् । प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो दायित्व पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारीमार्फत गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरेका थिए । होटल संघ नेपालका पदाधिकारीहरूले नेपालका होटलहरू वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको तर हाल करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको जानकारी गराएका थिए। पर्यटक आगमन बढेमा रोजगारी सिर्जना हुने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूको भनाइ थियो ।
व्यवसायीहरूले आरोग्य पर्यटन, गन्तव्य विवाह र सीमापार पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, साना तथा मझौला होटलका लागि वातावरणीय अध्ययनसम्बन्धी व्यवस्था सहज बनाउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै नेपाल वायुसेवा निगमको सेवा सुधार, होटल क्षेत्रसँग सम्बन्धित कानुन संशोधन तथा आरोग्य पर्यटन र गन्तव्य विवाह प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार गर्न पनि माग गरेका छन् । छलफलमा छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलसहित हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो ।
१२- नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली क्षेत्रीय स्थायित्व र आर्थिक उत्थानसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा सहभागी हुन बुधबार श्रीलंका प्रस्थान गरेका छन् । जुलाई १६ देखि १८ सम्म कोलम्बोमा हुने सम्मेलनमा एसियाका विभिन्न देशका कम्युनिस्ट, समाजवादी र प्रगतिशील दलका नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा क्षेत्रीय शान्ति, आर्थिक संकट, जलवायु परिवर्तन, सैन्यीकरण र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजनीतिक नेताहरूसँग शिष्टाचार भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
१३- नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । बुधबार मलेसियामा सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । जापानले दिएको ८७ रनको लक्ष्य पछाएको नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जापानले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ८६ रन बनाएको थियो । अब नेपालले सेमिफाइनलमा युएइको सामना गर्ने भएको छ र सेमिफाइनलको खेल शुक्रबार हुने छ ।
१४- किसानले काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उचित बजार नपाएको, सरकारले पर्याप्त अनुदान र बजारको सुनिश्चितता गर्न नसकेको, आयातमुखी नीतिका कारण स्वदेशी किसानका उत्पादनले मुल्य नपाएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा टमाटर फालेर प्रदर्शन गरेका हुन् । उनीहरुले टमाटर बिक्री हुन नसकेको र उत्पादनको लागतसमेत उठाउन मुश्किल भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, मल बीउको सहज उपलब्धता गराउन, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।
१५- कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीले सामुहिक राजीनामा बुझाएका हुन् । प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सयुक्त रुपमा राजीनामा दिएका हुन् । प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला काँग्रेसका मन्त्रीहरुले राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर तोलाको ४४१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३६० मा कारोबार भएको थियो ।
१७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्यप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो कार्यमा संलग्न जोसुकै भए पनि उनीहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । झाले राज्यको दायित्व नागरिकको चिन्ता र समस्या समाधान गर्नु भएको उल्लेख गर्दै राज्य आफैंले नागरिकलाई थप त्रास र आतङ्कित बनाउने काम गर्न नहुने बताएका छन् । उनले यस्तो ‘बचपना’ देखाएर मुलुक सञ्चालन हुन नसक्ने टिप्पणी गर्दै, यस्तै स्तरहीन र गलत अभ्यासका लागि जनताले बलिदान नदिएको उल्लेख गरेका छन् । यस्ता गतिविधिप्रति आफ्नो घोर आपत्ति रहेको उनको भनाइ छ । उनले भनेका छन्- ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ ।’
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो प्रस्ताव करिब २४ घन्टामै फिर्ता लिएका छन् । अब त्यसको सट्टा खाडी मुलुकसँग व्यापार र लगानीसम्बन्धी ठूला सम्झौतामा जोड दिइने उनले बताएका छन् । ट्रम्पले पश्चिम एसियाका नेतासँग भएको अत्यन्त सकारात्मक र उपयोगी छलफलपछि शुल्क लगाउने योजना स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार अब विभिन्न खाडी मुलुकले अमेरिकामा ठूलो मात्रामा लगानी गर्ने र व्यापार विस्तार गर्ने समझदारीलाई प्राथमिकता दिइनेछ ।
ट्रम्पले टोल शुल्कभन्दा लगानी र व्यापार दुवै पक्षका लागि बढी लाभदायी हुने उल्लेख गर्दै यसबाट अमेरिका र खाडी मुलुक दुवैले आर्थिक फाइदा लिने दाबी गरेका थिए । यद्यपि उनले इरानसँग सम्बन्धित जहाजमाथिको नियन्त्रण भने कायमै रहने बताए । उनका अनुसार अब नाकाबन्दी इरानी बन्दरगाहबाट आउने वा जाने जहाज तथा इरानसँग सम्बन्धित सामान बोकेका जहाजमा मात्र लागू हुनेछ । ट्रम्पले अमेरिकाको सैन्य शक्तिका कारण होर्मुज जलडमरूमध्य अधिकांश जहाजका लागि सुरक्षित र खुला रहेको दाबी गर्दै रक्षा मन्त्री पिट हेगसेथ, संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष ड्यान केन र अमेरिकी केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको प्रशंसा गरे । उनले इरानको नेतृत्वलाई हिंसात्मक र गलत नीतिअनुसार देशलाई विनाशतर्फ धकेलिरहेको आरोपसमेत लगाए ।
उनले आगामी दिनमा खाडी मुलुकबाट हुने नयाँ लगानीका कारण अमेरिकामा कारखाना, उद्योग र आधुनिक उत्पादन संयन्त्र विस्तार हुने तथा लाखौँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरेका छन् । साथै इरानले कहिल्यै पनि परमाणु हतियार प्राप्त गर्न नसक्ने दाबी दोहोर्याए । यसअघि ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षामा अमेरिकाको ठूलो भूमिका रहेको भन्दै त्यहाँबाट गुड्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाउने बताएका थिए । तर ह्वाइट हाउसमा इराकका प्रधानमन्त्री अली अलजैदीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले शुल्कभन्दा व्यापार र लगानी विस्तारलाई प्राथमिकता दिने बताएका थिए ।
१९- भारतले पहिलो एकदिवसीय क्रिकेट खेलमा इङल्याण्डलाई ६ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिले ब्याटिङ गरेको इङल्याण्ड ४७.५ ओभरमा २५८ रनमा समेटियो । जवाफमा भारतले ४५.२ ओभरमा ४ विकेट गुमाउँदै २६२ रन बनाएर लक्ष्य पूरा गरेको थियो । भारतको जितमा कप्तान शुभमन गिल, अक्षर पटेल र वासिङ्टन सुन्दरले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
शुभमन गिलले ८० रन बनाएका बेला खुट्टामा समस्या देखिएपछि मैदान छाड्दै उपचारका लागि बाहिरिएका थिए । भारतको सुरुआत भने राम्रो हुन सकेन । रोहित शर्मा र विराट कोहली सस्तैमा आउट भएपछि शुभमन गिल र श्रेयस अय्यरले तेस्रो विकेटका लागि १०१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गिल मैदानबाट बाहिरिएपछि श्रेयस अय्यर रनआउट भए भने केएल राहुल पनि धेरै समय टिक्न सकेनन् । त्यसपछि अक्षर पटेल र वासिङ्टन सुन्दरले जिम्मेवारी सम्हाल्दै पाँचौँ विकेटका लागि अविजित १०२ रनको साझेदारी गरेका थिए ।
अक्षरले ३९ बलमा अर्धशतक पूरा गर्दै अविजित ५७ रन बनाए भने वासिङ्टनले विजयी छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । उनी ५२ रनमा अविजित रहे । इङल्याण्डका लागि जोफ्रा आर्चर, जोस टङ र साम करनले समान एक-एक विकेट लिए । त्यस्तै इङल्याण्डका लागि जो रुटले ७६, लियाम डावसनले ६८ र बेन डकेटले ४३ रन बनाएका थिए भने भारतीय बलर अक्सर पटेलले ४ विकेट लिएका थिए भने गुरनूर ब्रार र प्रसिद्ध कृष्णले २-२ विकेट लिएका थिए । यो जितपछि भारतले सिरिजमा १-० को बढ्त बनाएको छ भने अब सिरिजको दोस्रो खेल विहिबार हुने छ ।
२०- स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो । अवसर कम सिर्जना भएको खेलमा स्पेनले बलमाथिको नियन्त्रण कायम राख्दै जित दर्ता गरेको हो । स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले पहिलो हाफको मध्यतिर पेनाल्टीमार्फत गरेका थिए । फ्रान्सका बायाँ रक्षक लुकास डिन्येले लामिन यामालमाथि फउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। ओयारजाबालले त्यसलाई सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि स्पेनले आफ्नो लय कायम राख्यो ।
खेलको नियन्त्रण आफ्नो पक्षमा राखेको स्पेनका लागि पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि नजिकको कुनाबाट गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको अनुशासित र संगठित रक्षापङ्क्ति तोड्न सकेन । प्रतियोगिताभर एक गोल मात्र बेहोरेको स्पेनले अन्तिमसम्म संयमित प्रदर्शन गर्दै सहज जित सुरक्षित गर्यो । यस हारसँगै लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको छ । अब फ्रान्सले तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ । साथै, १४ वर्षदेखि टोली सम्हालिरहेका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको कार्यकाल पनि यही प्रतियोगितापछि समाप्त हुनेछ ।अब स्पेन उपाधि भिडन्तका लागि न्यु जर्सी पुग्नेछ। फाइनलमा स्पेनले इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । स्पेनले यसअघि २०१० मा विश्वकप उपाधि जितेको थियो ।