काठमाडौं । कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महीनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।
फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महीनामा नेपालमा १६ हजार ९७५ पर्यटक आएका छन् । गतवर्षको सो महीनामा ८ हजार ८७४ पर्यटक नेपाल आएका थिए ।
कोरोना संक्रमण घट्दै जाँदा पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) धनञ्जय रेग्मीले पछिल्ला महीनामा पर्यटक बढ्दै गएको बताए । पर्यटक आगमन बढाउन यूरोप, अमेरिकाभन्दा पनि भारत तथा सीमा क्षेत्रलाई लक्षित गरेर कार्यक्रम ल्याइनुपर्ने उनको भनाइ छ ।
भारतका विभिन्न शहरबाट पत्रकार, व्यवसायी लगायतलाई बोलाएर ‘टुरिजम मार्ट’ सञ्चालन गरिने उनले बताए । सोहीअनुसार मार्च १०, ११ र १२ मा नेपालगञ्ज, मार्च २५, २६ र २७ तारिखमा धरानमा कार्यक्रम कार्यक्रम आयोजना गरिने जानकारी उनले दिए । बोर्डका अनुसार भारतीय सीमा क्षेत्र लक्षित पर्यटन प्रवर्द्धनका लागि अप्रिलमा धनगढी र मेमा भैरहवामा यस्तो कार्यक्रम गरिँदै छ ।
‘विशेषगरी नेपाल–भारत सीमा क्षेत्रको २०० किलोमिटरभित्र रहेका भारतका प्रमुख शहरहरूलाई लक्षित गरेर काम गरिनेछ,’ रेग्मीले भने, ‘अहिलेको पर्यटक आगमनको अवस्था हेर्दा पनि भारत र बंगलादेशबाट आउने संख्या बढी देखिएको छ, भने हामीले बंगलादेशमा बढी प्रचारप्रसार पनि गरिरहेका छौं,’ सीईओ रेग्मीले भने ।
चीनतर्फ पनि डिजिटल माध्यमबाट नेपालको पर्यटकीय प्रचारप्रसार गरिने उनले बताए । अन्य देशमा भने भौतिक रूपमै उपस्थितिमै पर्यटन प्रवर्द्धन तथा बजारीकरणका काम गरिने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS