काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य व्यवसायीलाई क्यूआर कोडमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्ने सुविधा उपलब्ध गराइनेछ। यसबाट सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीलाई नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हट्ने तथा भुक्तानी प्रक्रिया थप सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ।
सम्झौतामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका तर्फबाट राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंक लिमिटेडका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गर्नुभएको हो।
सरकारले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारीसाधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णय यसअघि नै गरेको थियो। सोही निर्णयअनुसार मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न सवारीसाधनका लागि प्रवेश तथा बाहिरिने शुल्क तोकेको छ।
तोकिएको दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधन र भारी उपकरणका लागि भने प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ।
नगदरहित भुक्तानी प्रणाली लागू भएपछि विशेषगरी नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई शुल्क भुक्तानीमा थप सहजता हुने महासंघका अध्यक्ष बाँनियाकाे विश्वास छ ।