काठमाडौँ । अमेरिकाको ह्वाइट हाउस संवाददाता रात्रिभोज कार्यक्रमका क्रममा गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससहित सहभागी वाशिंगटनस्थित होटल हिल्टनमा उपस्थित रहेका बेला बाहिर गोली चलेको बताइएको छ ।
घटनापछि सुरक्षाकर्मीले ट्रम्प र भान्सलाई तत्काल सुरक्षित स्थानमा लगेका थिए । आक्रमणकारीलाई सुरक्षाबलले घटनास्थलबाट पक्राउ गरिएको बताइएको छ । गोलीबारी रात्रिभोज हलमाथि रहेको लबी क्षेत्रमा भएको जनाइएको छ ।
सिक्रेट सर्भिसको निर्देशनपछि कार्यक्रममा रहेका अतिथिहरूलाई टेबलमुनि झुक्न भनिएको थियो । भारी हतियारसहितका सुरक्षाकर्मी तुरुन्तै मञ्चमा पुगेर सम्पूर्ण कार्यक्रमस्थललाई सुरक्षित बनाएका थिए ।
घटनापछि केही मानिस बाहिर निस्किएको देखिए पनि मञ्चबाट कार्यक्रम केही समयपछि पुनः सुरु हुने घोषणा गरिएको थियो । तर राष्ट्रपति ट्रम्प फेरि कार्यक्रममा सहभागी हुने वा नहुनेबारे स्पष्ट भएको छैन ।
यो ट्रम्प राष्ट्रपति बनेपछि उक्त रात्रिभोज कार्यक्रममा सहभागी भएको पहिलो अवसर थियो । उनी घटना हुनुभन्दा केही मिनेटअघि मात्र पुगेका थिए ।
