काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा पनि ट्यारिफ लगाउने घोषणा गरेका छन् । बीबीसीका अनुसार उनले विदेशी चलचित्रहरूमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन् ।
आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा ट्रम्पले यसको घोषणा गर्दै लेखेका छन्, ‘अमेरिकामा चलचित्र उद्योग तीव्र गतिमा नष्ट हुँदैछ । अन्य देशहरूले हाम्रा चलचित्र निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लाने विभिन्न प्रकारका प्रोत्साहन दिँदैछन् ।’
उनले यसलाई अन्य देशहरूद्वारा गरिएको सङ्गठित प्रयास भन्दै यो ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ रहेको बताएका छन् ।
ट्रम्पले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई विदेशी चलचित्रहरूमा शतप्रतिशत ट्यारिफ लगाउने प्रक्रिया सुरु गर्न निर्देशन गरिएको बताए ।
उनले लेखेका छन्, ‘हामी फेरि अमेरिकामा बनेका चलचित्रहरू चाहन्छौं ।’
जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएपछि ट्रम्पले विश्वभरका देशहरूमा ट्यारिफ लगाउने नीति अगाडि सारेका छन् ।
यसले अमेरिकी निर्माताहरूलाई प्रोत्साहित गर्ने र रोजगारी सुरक्षित राख्न मद्दत गर्ने उनको भनाइ छ ।
तर, उनको यो निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल मच्चाएको छ ।
FACEBOOK COMMENTS