काठमाडौं । नेकपा एमाले बागमती सम्पर्क कमिटीले भोलि शनिबार काठमाडौंमा ‘एसईई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
पार्टी अध्यक्ष एवम् वेटिङ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कोटेश्वरस्थित होटेल ए–वान भेन्युमा आयोजना हुने सो कार्यक्रममा बागमती प्रदेशका सबै जिल्लाबाट एसईई उत्तीर्ण हुने करिब दुई हजार जना विद्यार्थीलाई एकसाथ सम्मान गर्न लागिएको सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीले जारी दिए ।
कार्यक्रमको तयारीबारे आज शुक्रबार अपराह्न पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार सो कार्यक्रममा प्रेरक वक्ताहरू मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह, काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवम् चर्चित युवा नेत्री सुनिता डंगोल तथा कुशल उत्प्रेरकका रूपमा परिचित रविन कटुवालले उत्प्रेरणा एवम् परामर्श दिने छन् । अध्यक्ष ठकुरीका अनुसार भोलि दिउँसो साढे १२ बजेदेखि आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
२०८० साल चैतमा सम्पन्न एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिने, आगामी दिनमा थप शैक्षिक सफलताका लागि उत्प्रेरणा जगाई जीवनमार्गमा सही ढङ्गले अगाडि बढ्न प्रोत्साहित गर्ने, उज्ज्वल शैक्षिक भविष्यका लागि आवश्यक परामर्श दिई हौसला प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बागमती प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख सरोज मोहन लामाले जानकारी दिए ।
‘नेपाली राजनीतिमा झन्डै ६ दशक लामो अनुभव सँगाल्नुभएका र दुईपटक मुलुकको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीको जिम्मेवारी सफलतापूर्वक वहन गर्नुभएका तथा चाँडै नै तेस्रोपटक प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा विभिन्न क्षेत्रमा आफ्नो प्रभाव जमाइसक्नुभएका दिग्गज महानुभावहरूबाट प्राप्त हुने शैक्षिक परामर्श तथा सन्देश आकाश चुम्ने सपना बोकेर त्यसलाई साकार पार्न सही गोरेटो निर्माणमा अग्रसर भाइबहिनीका लागि निश्चय नै प्रेरणादायी, जीवनोपयोगी र परिणाममुखी हुने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गर्न लागिएको हो,’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रममा जनाइने सहभागिताले विद्यार्थीहरूमा रहेका भ्रम र अन्योल अन्त्य गराउने तथा उनीहरूमा स्पष्ट दृष्टिकोण तथा धारणा निर्माणमा उल्लेखनीय सहयोग पुर्याउने विश्वास पनि हामीले लिएका छौं ।’
हिजो बिहीबार (असार २० गते) बेलुकासम्म बधाई, शुभकामना तथा उत्प्रेरणा ग्रहण गर्न एक हजार १०१ जना विद्यार्थीले नाम टिपाइसकेको र कार्यक्रम सुरू हुने समयसम्म सो सङ्ख्या बढेर दुई हजार पुग्ने आयोजकको विश्वास छ ।
‘आजका विद्यार्थी भोलिको राष्ट्रका कर्णधार हुन्, समाज परिवर्तनका संवाहक हुन् । सङ्कट आइपरेका बेला देश थाम्ने दरिला खम्बा मात्र नभएर राष्ट्रोन्नतिका विभिन्न सम्भावनाका ढोका उघार्न सक्ने योग्य जनशक्ति पनि उनीहरू नै हुन् । सुशासनयुक्त–भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न, राज्यले लिएको समाजवादको लक्ष्य हासिल गर्न, समृद्ध नेपाल सुखी नेपालीको सपनालाई यथार्थतामा बदल्न आजका विद्यार्थीलाई पनि सही ढङ्गले जागृत गर्नु र मार्गनिर्देश दिनु हरेक अभिभावक, अग्रज व्यक्तित्वको मात्र नभई सार्वजनिक सरोकार राख्ने जुनसुकै संघसंस्थाको समेत दायित्व हो भन्ने हाम्रो ठम्याइ छ,’ सम्पर्क कमिटीको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS